नेकपा माओवादी केन्द्रका प्रदेश सांसदले दिएको राजीनामा लुम्बिनी प्रदेशसभा सचिवालयले गुपचुप राखेको पाइएको छ । माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित दिपेश थारूले चार दिनअघि दिएको राजीनामा प्रदेशसभा सचिवालयले गुपचुप राखेको हो ।
उनी बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (ग) को प्रयोजनको लागि भन्दै राजीनामा दिएका हुन् ।
यही ९ वैशाखमा थारूले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए । उनले आफ्नो राजीनामा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीलाई बुझाएका थिए । तर, उनको राजीनामा के कारणले गुपचुप राखिएको हो भन्नेबारे भने प्रदेशसभा सचिवालयले केही बताएको छैन ।
प्रदेशसभा सचिवालयले सोमबारको मितिमा जारी गरेको सूचनामा नेपालको संविधानको धारा १८० (क) बमोजिम थारुले जितेको उक्त निर्वाचन क्षेत्र रिक्त भएको जनाएको छ ।
प्रदेशसभाद्वारा जारी सूचनामा भनिएको छ, ‘प्रदेश सभाको बैठक चालु नरहेको अवस्थामा प्रदेशसभा नियमावली २०७४ को नियम १८५ को उपनियम २ बमोजिम जानकारीको लागि आदेशानुसार यो सूचनापत्र प्रकाशन गरिएको छ ।’