ड्राइभिङ स्कुल संघ तनहुँमा नवराज

 

तनहुँ जिल्लाका विभिन्न स्थानमा रहेका ड्राइभिङ स्कुल व्यवसायी संगठित भएका छन् । तनहुँका ड्राइभिङ स्कुल व्यवसायीको शनिबार भएको भेलाले नवराज तिवारीको अध्यक्षतामा सर्वसम्मत जिल्ला समिति चुनेको छ ।

ड्राइभिङ स्कुल संघ गण्डकी अध्यक्ष वसन्त भट्टचनले व्यवसायीको सुझाव अनुसारको नयाँ कार्यसमिति भेलामा प्रस्तुत गरेका थिए । भेलाले उनको प्रस्तावलाई अनुमोदन गरेको हो ।

शाखा अध्यक्ष तिवारी ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशका कोषाध्यक्षसमेत हुन् । उनले जिल्लाका व्यवसायीको सल्लाह, सुझाव, केन्द्र र प्रदेशको मार्गनिर्देशनमा शाखालाई व्यवसायीको हितमा लगाउने प्रतिवद्धता गरेका छन् ।

शाखाको उपाध्यक्षमा सूर्यप्रसाद पौडेल, सचिव विवेक बानियाँ, कोषाध्यक्ष सुदीप कुमाल, सहसचिव मनध्वज राना छन् । यस्तै, सदस्यमा नारायण केसी, क्रान्तिबहादुर थापा, अनिल राना र ओमप्रकाश बास्तोला निर्वाचित भएका छन् ।

कार्यक्रममा ड्राइभिङ स्कुल संघ नेपालका केन्द्रीय महासचिव उमेश सिकेले अनेक समस्यालाई चिर्दै ड्राइभिङ स्कुल संघ नेपाल व्यवसायीको हितमा तल्लीन रहेको बताए । उनले संगठन विस्तारमा जोड दिँदै सामूहिकताको भावनाले काम गर्न आग्रह गरे । महासचिव सिकेले भने, ‘जग्गाको समस्या छ, रेटमा एकरुपता छैन, हामी आफैं पनि व्यवसायिक बन्न बाँकी छ । नागरिकलाई रोजगारी दिने, सीप सिकाउने र राज्यलाई टेवा दिने काम हामी गरिरहेका छौं ।’

संघका गण्डकी प्रदेश अध्यक्ष भट्टचनले तनहुँमा जिल्ला शाखा बन्नु ऐतिहासिक भएको बताए । उनले स्थानीय संघ, संस्था, प्रशासन, स्थानीय सरकारदेखि प्रदेश र संघको केन्द्रीय समितिसँग सहकार्य गरी काम गर्न आग्रह गरे ।

कमेन्टहरु
Loading...