गन्थन संवाददाता, पाेखरा । राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशमा मतदान सुरु भएको छ । गण्डकी प्रदेशबाट तीन सिटका लागि मतदान सुरु भएको हो ।
राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि आज बुधबार अन्य प्रदेशमा पनि मतदान सुरु भइसकेको छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बिहान ९ बजेदेखि सुरु भएको मतदान अपरान्ह ३ बजेसम्म चल्नेछ ।
जसका लागि आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा प्रदेश निर्वाचन कार्यालय विराटनगरमा र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको आयोगले जानकारी दिएको छ ।
मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा, लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्यसँगै स्थानीय तहका प्रमुखउपप्रमुखले भाग लिन पाउँछन् ।
राष्ट्रिय सभामा तीन सदस्यका लागि भइरहेको निर्वाचनमा सत्तारुढ गठबन्धन, एमाले र राप्रपाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् । राप्रपा प्रदेश १ बाहेकमा मतदान नगर्ने भएको छ । निर्वाचन आयोगले मतदान आजै मतगणना गरेर मतपरीणाम सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्माले मध्यरातिसम्म मतपरीणाम आइसक्ने बताए ।