पाठेघरको मुखको क्यान्सरबाट सचेत बनौं: डा. तारा गुरुङ

राजु गिरी । जनचेतनाको अभाव र आफ्नो स्वास्थ्यको ख्याल नराख्दा धेरैले अकालमा ज्यान गुमाउनु परेको छ । विभिन्न रोग लाग्दा आफुले जीवनभर कमाएको धन–सम्पत्ति गुमाई सडकमा आउनुपर्ने विवशता पनि धेरैको छ । बेलैमा थोरै रकममा हुने चेकजाँच नगर्दा करोडौ सम्पत्तिले पनि ज्यान बचाउन सकिरहेको छैन । विशेषगरि महिलाहरुको ज्यानै लैजानेगरि आएको क्यान्सर रोग मध्येको एक पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) पनि हो ।

अज्ञानता र समयमै चेकअप नगर्दा पाठेघरको क्यान्सरबाट बर्षेनी थुप्रै महिलाहरूको मृत्यु हुने गरेको छ । सुरुकै अवस्थामा लक्षण पत्ता लगाई आवश्यक उपचार गरेमा पुर्णतया निको हुने यो रोगले हेलचक्रयाईंका कारण पनि ज्यान लिइरहेको छ । युवा अवस्थामा धेरैलाई संक्रमण हुन सक्ने वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर तारा गुरुङ बताउँछिन् ।

हाम्रो समाजमा क्यान्सर भन्ने अलि उमेर पाको भएपछिमात्र लाग्छ भन्ने धारणा छ । तर पाठेघरको मुखको क्यान्सर युवा अवस्थामा पनि देखापर्ने उनको भनाई थियो । उनी भन्छिन्– ‘कलिलो उमेरमा झन धेरैलाई लाग्न सक्छ । सामान्य अवस्थाका महिलाले प्रत्येक वर्ष–वर्षमा परीक्षण गर्नु राम्रो हुन्छ । लक्षण देखिएको वा पाठेघरमा समस्या आएको खण्डमा तुरुन्तै अस्पतालमा चेक गराउनु पर्छ । क्यान्सरको संक्रमण समयमै पत्ता लगाई रोकथाम गरिएन भने विस्तारै फैलिदै गएर मृत्युको मुखसम्म लैजान्छ ।’

विशेषगरि रोगसँग लड्ने क्षमता कम भएकाहरुलाई छिटो संक्रमण फैलने डा. गुरुङ बताउँछिन् । उनी भन्छिन्– ‘महिलामा संक्रमणको लक्षण देखियो भने क्यान्सरको संक्रमण हो कि होईन भनी शुरुमा स्क्रिनिङ चेकअप गरिन्छ । जसलाई पूर्वचेकअप भन्ने पनि गरिन्छ । पाठेघरको मुखको पानी निकाली जाँच गर्ने प्याप स्मेयर (PAP Smear) तथा भिआईए (visual inspection with acetic acid) द्वारा जाँच गरिन्छ । यो चेकअप गर्न ठुलो खर्चपनि लाग्दैन ।’ खर्च लाग्ने डरले पनि सामान्य लक्षण देखिँदा चेकअपको लागि नआउँदा संक्रमण फैलिन पाउने उनको भनाई छ । अहिले इन्सुरेन्सको सुविधा र जनचेतना वृद्धिले गर्दा चेकअप गर्न महिलाहरु आउने गरेको उनी बताउँछिन् ।

‘पाठेघरको मुखको क्यान्सर हुनुमा ह्युमन पेपिल्लोमा भाइरस (Human Papilloma Virus) को मुख्य भुमिका हुन्छ । यो एचपी भाइरस प्रवेश गरेको छ भने यौन सम्पर्क शुरु भएपछि यसले असर देखाउन शुरु गर्छ । योनीबाट सेतो पानी बग्ने र चिलाउन थाल्यो भने यसमा शंका गर्नुपर्छ । किनभने सुरुवाती अवस्थामा यस्तै लक्षण देखिन्छ । यो लक्षण देखिनासाथ स्वास्थ्य परीक्षण गराउनु पर्छ । यो परीक्षणले संक्रमण क्यान्सर हुनु अगाडि कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकिन्छ । ’ –उनी भन्छिन् ।

 

पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारणहरू के के हुन् ?
– सूक्ष्म विषाणु (Human Papilloma Virus) को संक्रमण हुनु ।
– कम उमेरमा विवाह तथा यौनजन्य क्रियामा सहभागी हुनु ।
– कम उमेरमा शारिरिक सम्वन्ध हुनु
– कम उमेरमा बच्चा जन्माउनु ।
– धेरै बच्चा जन्माउनु ।
– पटक पटक गर्भपतन गराउनु ।
– एकभन्दा बढी व्यक्तिहरूसँग यौनसम्पर्क गर्नु ।
– यौनरोग तथा गुप्तांगका दीर्घ रोगहरू ।
– गुप्ताङ्गको सरसफाईमा ध्यान नदिनु ।
– चुरोट, बिंडी, खैनी, तमाखु र सूर्तीजन्य पदार्थको सेवन ।

के कस्ता लक्षणहरु देखा पर्छन् ?
– लक्षण नदेखिन पनि सक्छ ।
– महिनावारी नभएको समयमा पनि रगत (Inter Menstrual Bleeding) देखा पर्नु ।
– यौन—सम्पर्कपछि रगत आउनु ।
– महिलाहरूको योनीबाट रगत आउनु ।
– महिनावारी हुँदा धेरै दिनसम्म वा बढी मात्रामा रगत बग्नु ।
– गुप्तांगबाट असामान्य तथा अस्वाभाविक तरल पदार्थ बग्नु ।
– तल्लो पेट दुख्नु, आलस्य हुनु वा धेरै थकाई लाग्नु, ढाड दुख्नु
– तौल घट्दै जानु ।
उपरोक्त कुनै पनि लक्षणहरु देखापरेमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा सम्बन्धित अस्पतालमा सम्पर्क राख्नु पर्दछ ।

रोकथामका लागि के गर्नुपर्ला ?
पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सम्भव भएकाले निम्नलिखित कुराहरू गर्नु आवश्यक छ ः
– सानो उमेरमा विवाह गर्नु हुदैन ।
– महिलाहरूले नियमित स्त्रीरोग परीक्षण र हरेक वर्ष प्याप परिक्षण (PAP Smear Test) गराउनु पर्दछ ।
– धेरै जनासँग यौनसम्पर्क गर्नु क्यान्सरको एक कारक तत्व भएकाले सो बाट जोगिनु पर्दछ ।
– गुप्तांगसम्वन्धी रोगहरूको समयमै उपचार गराउनु पर्दछ ।
– गुप्तांग सधै सफा राख्नु पर्दछ ।
– धेरै बच्चा जन्माउनु हुँदैन ।
– चुरोट, बिँडी, खैनी, तमाखुजस्ता सूर्तीजन्य पदार्थहरूको सेवन गर्नु हुँदैन ।
– पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्थामा उपचार गर्नुपर्छ ।

(डा. तारा गुरुङ पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञको रुपमा र रिजनल हस्पिटलमा मेडिकल डाइरेक्टरको रुपमा सेवारत छिन् ।)

कमेन्टहरु
Loading...