श्रीलंकाको उच्च अदालतले बुधबार जेल कमिस्नर इमिल लामाहेवागेलाई मृत्यु दण्डको सजाय सुनाइएको छ । सन् २०१२ नोभेम्बरमा २७ जना कैदीलाई मृत्युदण्डको शैलीमा हत्याकाण्ड गरेको आरोपमा उनलाई मृत्यु दण्डको सजाय सुनाइएको हो । उनीसँगै आरोपित प्रहरी कमान्डो मोसेस रंगाजीवालाई भने सफाइ दिएको छ ।
कोलोम्बामा रहेको श्रीलंकाको मुख्य वेलीकाडा कारागारमा भएको हत्याकाण्डमा दुवैलाई जुलाई २०१९ मा दोषी करार गरिएको थियो । घटनामा ८ जनालाई नामले बोलाएर मृत्युदण्डको शैलीमा हत्या गरिएको थियो भने अरूलाई गोली प्रहार गरिएको थियो । कैदीहरूले जेलको हतियार गृहबाट हतियार चोरेर जेलभित्र दङ्गा फैलाएको भन्दै प्रहरी कमान्डोलाई परिचालन गरिएको थियो ।
अभियोजककाअनुसार पछि मृतकको साथ हतियार राखेर उनीहरूले जेलका गार्डमाथि आक्रमण गर्न खोजेको देखाउन खोजिएको थियो ।
उक्त घटनाको अन्तर्राष्ट्रिय जगतले भर्त्सना गरेको थियो । तत्कालीन राष्ट्रपति महेन्दा राजापाक्षको पनि चौतर्फी आलोचना भएको थियो । सन् २००९ मा ३७ वर्ष लामो तमिल विद्रोहको अन्त्यतिर मानव अधिकारको व्यापक उल्लंघन भएको आरोप लागेको थियो ।