नेप्सेको सीईओका लागि तीन जनाको नाम सिफारिस

काठमाडौँ/ नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दोस्रो चरणमा छनोटका लागि तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) मा राखिएको छ । यसअघि सीईओका लागि परेको कुल ११ आवेदक मध्ये सीईओ नियुक्ति तथा सिफारिस समितिले पहिलो चरणमा पाँच जना छनोट गरेको थियो । सो मध्येबाट पनि दोस्रो चरणमा समितिले रमेशकुमार भण्डारी, कृष्णबहादुर कार्की र केशव प्रसाद श्रेष्ठलाई सर्टलिस्टमा पारेको छ ।

पहिलो चरणमा भण्डारी, कार्की र श्रेष्ठसँगै प्रविन पन्दाक र रमेश घिमिरे छनोटमा परेका थिए । दोस्रो चरणमा पन्दाक र घिमिरे अटाएनन् । तीन जनाको नाम अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको बताइएको छ । सो मध्येबाट मन्त्रिपरिषद्को बैठकले एक जना नेप्सेको सीईओमा नियुक्त गर्नेछ ।

यसअघिका नेप्सेका सीईओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएसँगै पदबाट राजीनामा दिएका दिए । साउदको राजीनामासँगै रिक्त रहन गएको सो पदमा अहिले खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्ति गर्न लागिएको हो ।

कमेन्टहरु
Loading...