राष्ट्रिय सहकारी बैंकको साधारणसभा पोखरामा

पोखरा । राष्ट्रिय सहकारी बैंकको साधारण सभा बिहिवार पोखरामा हुँदैछ।

साधारण सभाको अघिल्लो दिन बुधबार साधारणसभाको तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मलेनमा एकाई (४) अन्तरगत गण्डकी प्रदेशका १ हजार ३ सय ८८ सहकारी संघ संस्थाका प्रतिनिधिहरु सहभागी हुने जानकारी आयोजकले दिएको छ ।

पोखरा सभागृहमा हुने साधारणसभामा ०७८ कार्तिक ९ गतेसम्म सदस्यता लिएका सहकारी संघ तथा संस्था सहभागी हुन पाउनेछन् । उक्त अवधिसम्म १४ हजार १ सय ५२ सहकारी संघ/संस्था सदस्यको रुपमा रहेका छन् ।

बैंकका अध्यक्ष केबी उप्रेतीले करिब ३०% भन्दा बढी उत्पादन र बजारीकरणमा लगानी भईरहेको जानकारी दिए ।
उनले बैंक मात्रै नभई सबै सहकारी संघ संस्थाले उत्पादन र बजारीकरणमा जोड दिनुपर्ने बताए।

सहकारीहरुको बैंकको रुपमा रहेको उक्त बैंक मार्फत १२ हजार ४६ सहकारी संघ/संस्था बचत र कारोबार मार्फत लाभान्वित भएको राष्ट्रिय सहकारी बैंक संचालक महेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार बैंकले ६८ वटा शाखा कार्यलय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकका कार्यकारी अधिकृत बद्री गुरागाईले बैंकको स्तर उन्नतिका लागि ‘डी’ बाट ‘बि’ स्तरमा लैजानका लागि आवश्यक प्रक्रिया अगाडी बढिरहेको जानकारी दिए ।

उनका अनुसार अहिलेको तरलताले केही हदसम्म सहयोग गर्ने गरि एउटा सहकारीलाई ५० लाख देखि १ करोड सम्म बैंकले उपलब्ध गराउदै आइरहेको छ ।

बैंकले ०७७/७८ मा २ अर्ब ८७ करोड शेयर पूंजी,६६ अर्ब ३४ करोड संकलन गरि ३५ अर्ब ९१ करोड कर्जा प्रवाह गरि कुल ७१ अर्ब ६८ करोड कारोबार गरेको छ ।

कमेन्टहरु
Loading...