Refresh

This website ganthan.com/archives/139124 is currently offline. Cloudflare\'s Always Online™ shows a snapshot of this web page from the Internet Archive\'s Wayback Machine. To check for the live version, click Refresh.

कोरोना नियन्त्रण गर्न सरकार क्रियाशील : मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विश्वव्यापी चुनौतीका रुपमा देखा परेको कोरोना भाइरस नियन्त्रणमा सरकार क्रियाशील रहेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा उनले छिटोभन्दा छिटो नेपाललाई कोरोनामुक्त पार्ने ध्येयका साथ स्वास्थ्य सेवालाई प्रभावकारी, जनमुखी, सर्वसुलभ र जनउत्तरदायी बनाउन सरकारको ध्यान केन्द्रित भएको बताए ।

जनस्वास्थ्यका मापदण्डको पालना र कोभिड–१९ विरुद्धको खोप अभियानमा सक्रिय सहभागिताले नै कोरोना नियन्त्रणमा सहयोग मिल्ने उल्लेख गर्दै मन्त्री खतिवडाले सर्वसाधारणलाई सहज हुने गरी खोप केन्द्रमार्फत सरकारले निःशुल्क खोप उपलब्ध गराउँदै आएको बताए ।

सरकारले १८ वर्ष र माथि उमेर समूहका लागि कोभिशिल्ड र भेरोसेल खोप र १८ वर्ष मुनिका उमेर समूह (१२–१७) का लागि फाइजर र मोडर्ना खोप लगाउँदै आएको छ । उनले सरकारको प्राथमिकतामा रहेको कोरोना विरुद्धको खोप अभियानलाई सफल पार्न अपिल गरे।

मन्त्री खतिवडाले १२ देखि १७ वर्षका बालबालिकालाई आफू अध्यन गर्ने वा आफूलाई नजिक पर्ने विद्यालयमा रहेको खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरे । ‘ओमिक्रोन’ भेरियन्टलाई फैलन नदिन सरकारले विभिन्न सुरक्षात्मक उपाय कार्यान्वयनमा ल्याएको उनले बताए ।

सरकारले दक्षिण अफ्रिकालगायत विभिन्न नौ देशबाट मङ्सिर १६ गते राति १२ बजेदेखि नेपाल प्रवेश अनुमति नदिने निर्णय गरेको छ । यस्तै अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकामा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरुका थप नमूना सङ्कलन गरी जीन सीक्योन्सिङ गर्ने गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म दुई करोड १९ लाख ८८ हजार ५१६ मात्रा खोप लगाइएको मन्त्री खतिवडाले जानकारी दिए । एक मात्रा खोप प्राप्त गर्नेको सङ्ख्या एक करोड २२ लाख ५१ हजार १८३ र पूर्ण खोप प्राप्त गर्नेको सङ्ख्या ९७ लाख ३७ हजार ३३३ रहेको छ ।

कमेन्टहरु
Loading...