ज्ञानेन्द्र र दीपेन्द्रसहित चार खेलाडीमाथि कारबाही, कप्तानको जिम्मेवारी सन्दीपलाई

काठमाडौं l नेपाल क्रिकेट संघ (क्यान) को बुधबार बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गर्याे । क्यानले अनुशासनसम्बन्धी आचारसंहिता उल्लङ्घनको आरोपमा मल्ल र दीपेन्द्रसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरूको ६ महिना सहभागीता नगराउने निर्णय सुनायो । मल्लको पदमुक्तसँगै क्यानले राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा युवा लेग स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो ।

क्यानले आफूसँग आबद्ध खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्ने निर्णय गरेको थियो । राष्ट्रिय टोलीकै  केही खेलाडी ए, बी केही सी श्रेणीमा परेपछि सिनियर खेलाडीले त्यसको विरोध गरे । उनीहरूले क्यानमा गएर विरोध गर्नुभन्दा मिडियाबाट प्रचारबाजी गरेको क्यानको भनाइ छ ।

क्यानको विधानअनुसार खेलाडीले अनुमतिविना मिडियामा गएर सार्वजनिक रुपमा बोल्न पाउँदैन । त्यसका लागि स्वीकृति लिनुपर्छ । आईसीसी, एसीसी, खेलाडी, क्यान, अम्पायर, पदाधिकारी कसैविरुद्ध पनि खेलाडीले बोल्न नपाउने आचारसंहितामा उल्लेख छ । तर क्यानलाई थाहा नै नदिइ खेलाडीहरू मिडियामा गएर बोलेपछि विवाद सुरू भएको हो । ‘ग्रेडिङ’मा एउटा खेलाडीको बिषयमा चित्त नबुझेपछि चार जना खेलाडी मिडियामा बोलेका थिए । त्यसमा क्यानको ध्यानाकर्षण भएको थियो । क्यानले खेलाडीलाई ‘किन मिडियामा गएर बोल्नु भयो ?’ भनेर प्रष्टिकरण पनि लिएको थियो । प्रष्टिकरण चित्तबुझ्दो नआएको भन्दै क्यानले केही खेलाडीलाई बोलाएर छलफल पनि गर्याे । तर, उक्त छलफलले पनि क्यानको चित्त बुझेन ।

क्यानले दोस्रो पटक पनि स्पष्टिकरण सोध्यो । त्यसमा समेत खेलाडीबाट चित्तबुझ्दो जवाफ आएन । क्यानले छानबिन समिति गठन गर्याे । जसको संयोजकमा कार्यबहाक सचिव प्रशान्तविक्रम मल्लसहित पाँच सदस्यीय टोली थिए । दोस्रो स्पष्टिकरणमा समेत सन्तोषजनक जवाफ आएन ।

‘समितिले छानबिनपछि क्यानको भर्चुअल बोर्ड बैठकमा प्रतिवेदन बुझायो । त्यही प्रतिवेदनलाई आधार मानेर क्यानले खेलाडी पदमुक्त र कारबाही गर्याे । उहाँहरूले मिडियामा बोलेको विषयमा ठिक छ भन्नुभयोे । संघमा लिखित उजुरी नै दिन पाउँछन् । त्यो नैसर्गिक अधिकार खेलाडीमा पनि छ । तर, सम्बन्धित खेलाडी नबोली अन्य खेलाडी मिडियामा गएर बोले । त्यसैमा केन्द्रित भएपछि क्यानले चार खेलाडीलाई कारबाही गर्याे ।’ क्यान उच्च स्रोतले न्युज कारखानालाई भन्यो ।

क्यानले सोधेको स्पष्टिकरणविरुद्ध खेलाडीहरूले उल्टै ११ बुँदे माग राखे । खेलाडीले क्यानलाई अपमान गर्ने गरी हस्ताक्षरसहित सात दिनको अल्टिमेटम र जवाफ मागे । त्यसबाट झनै क्यान नेतृत्व खेलाडीमाथि कठोर बन्यो । अल्टिमेटमसहित ११ बुँदे मागपत्रमा हस्ताक्षर गर्ने केही खेलाडीलाई क्यानले बोलाएर सोध्यो । केही खेलाडीले हस्ताक्षर गरेको तर आफूहरू ११ बुँदे मागमा सहमत नभएको बताए । यसबाट नेतृत्वमा झनै ध्यानाकर्षित भयो । पक्कै पनि यो खेल कसैले व्यक्तिगत स्वार्थका लागि खेलिरहेको हुनसक्ने उसले ठहर गर्यो छ ।

त्यही बिषयमा रहेर क्यानले दोस्रो स्पष्टिकरण सोध्यो । जसलाई बोर्डले हिजो कार्यान्वयन गर्याे । ‘मुख्य बिषय भनेको अनुशासन उल्लंघन नै हो । छानबिन समितिले यही देखेर बोर्डलाई प्रतिवेदन बुझायो । बोर्डले सोहीअनुसार कारबाही गरेको हो ।’ क्यान स्रोत भन्छ ।

यससँगै चार खेलाडी ६ महिना केन्द्रीय सम्झौतामा हुने छैनन् । दुई खेलाडीलाई पदमुक्त गराएको छ । क्यानले नयाँ वर्गीकरणअनुसार पहिलो श्रेणीले मासिक ५० हजार, दोस्रो श्रेणीले ४० र तेस्रो श्रेणीले मासिक ३० हजार पाउने जनाएको छ । यी चार खेलाडी सम्झौताअनुसार अबका ६ महिना रहने छैनन् । यसबाहेक खेलाडीले टोलीमा रहेबापत अन्तरराष्ट्रिय खेलको भत्ता, अभ्यास भत्ता भने पाउने छन् । यस्तै अन्य खेलाडी सहर सुबिधा पनि पाउने छन् ।

कारबाहीमा परेका मल्ल र दीपेन्द्र ए श्रेणीका हुन् भने सोमपाल बी श्रेणीमा छन् । यता, कमल भने सी श्रेणीका हुन् । सोमपाल बी श्रेणीमा भएसँगै यस विवाद सतहमा आएको हो ।

मल्ल पदमुक्तसँगै सन्दीप लामिछानेले नेपाली टोलीको कप्तानी पाएका छन् । तर, सन्दीपलाई दिएको जिम्मेवारीमाथि भने धेरैले असन्तुष्ट जनाएका छन् । कतिले गुट उपगुटको संज्ञा पनि दिएका छन् ।

स्रोत भन्छन्, ‘सन्दीप योग्य छन् । टिमभित्र सबै खेलाडी योग्य हुन्छन् । तर, टिमभित्रको योग्यबाट पनि योग्य छान्दा सन्दीप परेका हुन् । सन्दीप क्याननिकट भएर कप्तान भएको होइन । कप्तान भएपछि क्याननिकट हुनै पर्छ । टिम र संघ भनेको एकअर्काका परिपूरक हुन् । सधै कप्तान क्याननिकट भएको राम्रो र कप्तानले मैदानभित्र टिमलाई एकजुट गराउने हुनुपर्छ । मैदानबाहिर पनि संघप्रति उत्तरदायित्व र निकट भयो भने क्रिकेट राम्रो लयमा जान्छ ।’ क्यानको कारबाहीपछि अहिलेसम्म चारै खेलाडीले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

कमेन्टहरु
Loading...