सुदूरपश्चिम प्रदेशमा बुधबार थप १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ९५६ को नमूना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आरटी पीसीआर विधिमार्फत सात र एन्टीजेन विधिमार्फत छ जनामा पुष्टि भएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा चार तथा बैतडी, बाजुरा र महाकाली अस्पतालमा एक÷एक जनामा सङ्क्रमण देखिएको छ । एन्टीजेन कञ्चनपुरका पाँच र कैलालीका एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर पाँच जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । यसअघि मङ्गलबार यस प्रदेशमा १२ जनामा सङ्क्रमण पुष्टि हुँदा छ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१२ जनाको ज्यान गइसकेको छ ।