सोफिया । युरोपेली मुलुक बुल्गेरियामा मंगलबार बिहान गुडिरहेको एउटा बसमा आगो लाग्दा कम्तीमा ४५ जनाको मृत्यु भएको छ । मंगलबार बिहान २ बजेतिर पश्चिम बुल्गेरियाको स्ट्रुमा राजमार्गमा उक्त घटना भएको अधिकारीहरूलाई उल्लेख गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।
बसमा पहिला आगो लागेर पछि दुर्घटनामा परेको हो कि दुर्घटनामा परेपछि आगो लागेको हो भन्ने प्रष्ट भइसकेको छैन । मृत्यु हुनेमा केही बच्चाहरू पनि छन् । मृत्यु हुनेमा धेरैजसो आफ्ना नागरिक रहेको सोफियास्थित नर्थ मेसेडोनियाको राजदूतावासले जनाएको छ ।
उक्त बसमा नर्थ मेसेडोनियाका ५२ जना पर्यटकहरू चढेको समाचार संस्था तासले उल्लेख गरेको छ। बिबिसीका अनुसार उक्त बस टर्कीबाट नर्थ मेसेडोनिया जाँदै थियो । बसमा आगो लाग्दा जलेका सात जनालाई उपचारका लागि राजधानी सोफियाको अस्पतालमा लगिएको छ ।
एजेन्सी