७५ प्रतिशत छात्रा विद्यालय फर्केको अफगान विदेश मन्त्रीको दाबी

इस्लामावाद । अफगानिस्तानमा गठन भएको तालिबान सरकारले बालिकाहरुलाई पनि फेरि विद्यालय जाने वातावरण बनाइसकिएको दाबी गरेको छ । अन्तरिम तालिबान सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकीले ७५ प्रतिशत छात्रा विद्यालय फर्किसकेको दाबी गरेका हुन् ।

तालिबान सरकारले छात्रालाई विद्यालय जान नदिएको भन्दै आलोचना भइरहेका बेला उनले सरकारले छात्रालाई विद्यालय जान दिएको स्पष्ट पारेको जनाइएको छ । तत्कालिन तालिबान विद्रोही समूहले गत अगस्टमा सत्ता कब्जा गरेपछि केही समय बालिकाहरुलाई विद्यालय जान नदिएको कुरा भने तालिबान नेताहरुले पनि स्विकार गरेका थिए ।

महिलाहरुले रोजगारी गर्न नहुने, सार्वजनिक ठाउँमा जादाँ कम्तीमा एक जना पारिवारिक पुरुष सदस्यसँग जानु पर्ने, विद्यालयमा पनि छुट्टै कोठामा बस्नुपर्ने, लगायतका नियम लगाएका थिए । तालिवान नेताहरुले यो नीतिको विश्वभरीबाट आलोचना र विरोध भएपछि अहिले उनीहरु लचक भएको देखिएको छ ।

तालिवान सरकारले अघिल्लो कार्यकालमा पनि महिलाहरुको स्वतन्त्रता कुण्ठीत गरेको भन्दै धेरै देशहरुले पहिले देखि नै तालिवान सरकारप्रति आशंका गर्दै आएका छन् । अन्य देशहरुले अशंका र असहयोग गरिरहेपछि त्यसलाई न्युनिकरण गर्न भन्दै पाकिस्तानमा विभिन्न देशका कुटनीतिज्ञ र अफगानिस्तानका विदेशमन्त्री बीचको बैठक भएको छ । त्यही बैठकका लागि अफगान विदेश मन्त्री पाकिस्तान आएका हुन्।

तालिबान सरकारका प्रमुख नेता तथा विदेशमन्त्री मोताक्वी नेतृत्वको उच्चस्तरीय अफगानी टोली औपचारिक भ्रमणका लागि बुधबार बेलुका इस्लामावाद पुगेको हो ।पाकिस्तानमा गत बिहीबार अमेरिका, चीन, रुस र पाकिस्तानका कुटनीतिज्ञहरुसँगै उनको बैठक भएको छ । बैठक अफगानिस्तानको अवस्थाका बारेमा छलफल गर्न बोलाइएको थियो।

तालिवान सरकारप्रति आशंका व्यक्त गर्दै असहयोगको नीति लिएको अमेरिका र तालिवान सरकारप्रति निकै सकारात्मक र सहयोगी हुदै आएका चीन, रुस र पाकिस्तानका प्रतिनिधिहरु बैठकमा सहभागी भएका थिए ।

एएनआई

कमेन्टहरु
Loading...