अधिकांश स्थानीय तहका कार्यालय भाडाका घरमा

कालिकोटका अधिकांश स्थानीय तहका कार्यालय भाडाका घरमा सञ्चालनमा छन्।

जिल्लाका नौ वटा स्थानीय तहमध्ये खाँडाचक्र र रास्कोट नगरपालिका तथा महावै, शुभकालिका, सान्त्री त्रिवेणी र पलाता गाउँपालिकाले भाडाका घरमा कार्यालय सञ्चालन गर्दै आएका हुन्।

नरहरिनाथ, महावै, पलाता, रास्कोटलगायत स्थानीय तहले कार्यालय भवन निर्माण सुरु गरे पनि आफ्नै भवनमा सञ्चालन गर्न अझै तीन– चार वर्ष कुर्नुपर्ने अवस्था रहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए। ‘साविकको कुमालगाउँ गाविसको भवनमा गाउँपालिकाले प्रशासनिक काम गरिरहे पनि अन्य शाखा र स्टोर भाडाका घरमा राख्नुपरेको छ,’ उनले भने, ‘आफ्नै प्रशासनिक भवन निर्माणको काम थालनी गरिएको छ तर बन्नका लागि केही समय लाग्नेछ।’

सान्नीत्रिवेणी गाउँपालिकाले स्थानीय पञ्चदेवल मावि र जनचेतना बहुमुखी क्याम्पसको भवनमा कार्यालय सञ्चालन गरेको चार वर्ष पुगेको र पालिका भवनको अझै टुंगो नलागेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए।

‘विद्यालय र क्याम्पसलाई समस्या नपर्ने गरी केही कोठा प्रयोग गरिरहेका छौँ,’ उनले भने, ‘भवन बनाउन अहिलेसम्म जग्गाको टुंगो लागेको छैन।’

साविकको मुम्रा, मेहेलमुडी र रकु गाविस मिलेर बनेको यो गाउँपालिकाको वडा नम्बर २ बुठिंगेबाहेक अन्य वडाका पनि आफ्नै कार्यालय भवन छैन। मुम्रा–८ र ९ का कार्यालय पनि डाँफे मावि मुम्राको भवनमा छ। ठाउँ अभावले दुवै वडाको कार्यालय एउटै ठाउँमा राखिएको अध्यक्ष शाहीले बताए।

कार्यालय सञ्चालन गर्न अन्यत्र ठाउँ नभएपछि शैक्षिक संस्थाको खाली रहेको भवनमा गाउँपालिका सञ्चालन गरिएको उनको भनाइ छ।

खाँडाचक्र नगरपालिकाले ४ वर्षअघि आफ्नै भवन बनाउन पहल थाले पनि जग्गा अभावमा प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ। नगरपालिकाले घर भाडामा मात्र वार्षिक ३० लाख खर्च गरिरहेको खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए।

‘चालु वर्षमा पनि घर भाडाबापत ३० लाख प्रस्ताव गरिएको छ,’ उनले भने, ‘सदरमुकामस्थित खाँडाचक्र नगरपालिकाले चार वर्षदेखि स्थानीय तीन जनाका घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ।’

रास्कोट नगरपालिकाले पनि विषयगत शाखा र आठ वटा वडा कार्यालय भाडाकै घरमा सञ्चालन गरिरहेको छ। त्यस्तै, ११ वटा वडा कार्यालयका लागि ५ लाखदेखि ७ लाखसम्म बजेट विनियोजन गरेर नगरसभाबाट स्वीकृत भइसकेको छ।

पचालझरना गाउँपालिकाले अस्थायी टहरा निर्माण गरेर पडेक्षामा कार्यालय सञ्चालन गर्दै आएको छ। प्रशासनिक भवन बनाउन ठेक्का स्वीकृत भएको गाउँपालिकाका अध्यक्ष खड्क सेजुवालले जानकारी दिए।

कमेन्टहरु
Loading...