कपिलवस्तु । गत असोज १८ गतेबाट कपिलवस्तुमा फैलिएको झाडापखाला अझै पूर्ण रूपमा नियन्त्रणमा भने आउन सकेको छैन । स्वास्थ्य मन्त्रालयको अथक प्रयासले पनि कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा आउन नसकेपछि सरकारले खोप ल्याउने निर्णय गरेको हो । हैजाविरुद्धको खोप ‘ओरल कलेरा भ्याक्सिन’ नेपालले प्राप्त गरेको विश्व स्वास्थ्य संगठनको कलेरा विभागले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अमेरिकाबाट आगामी आइतबारसम्म दुई लाख ५२ हजार तीन सय ६३ डोज हैजाविरुद्धको भ्याक्सिन आउने भएको छ । भ्याक्सिन आउनासाथ प्रभावित क्षेत्रका जनतालाई तत्काल खुवाइनेछ ।
यसबीच जिल्लामा १३ सय ५३ जना बिरामी परेका छन् भने अहिलेसम्म ६ जनाको झाडा पखालाकै कारण मृत्युसमेत भएको शिवराज अस्पताल बहादुरगञ्जका स्वास्थ्यकर्मीको भनाइ छ ।