पोखरा । अन्तर्राष्ट्रिय बाल दिवसका अवसर पारि पोखरामा विद्यालयस्तरीय छात्रछात्रा सडक दौड आयोजना हुने भएको छ । कास्की जिल्ला खेलकुद विकास समितिले संयुक्त राष्ट्र संघको महासभाले अन्तर्राष्ट्रिय बाल अधिकार कानुन पारित गरेको सन्दर्भमा मंसिर ४ गते १६ वर्ष उमेर समुहका छात्रछात्रा सडक दौड प्रतियोगिता गर्न लागेको हो ।
पोखराको लेकसाइडको खहरे चोकबाट शुरु हुने दौड प्याराग्लाइडिङ ल्याण्डिङ क्षेत्र खपौंदीमा पुगेर सम्पन्न हुने कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा छात्र–छात्रा दुवैतर्फ प्रथम, द्वितिय, तृतिय र सान्त्वना क्रमण १० हजार, ७ हजार, ५ हजार र २ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै कार्यक्रम सम्पन्न गर्न करिव १ लाख ५० हजार खर्च हुने अनुमान गरिएको कास्की जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष महेन्द्र गुरुङले जानकारी दिए ।
प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न जिल्ला खेलकुद विकास समितीका उपाध्यक्ष महेन्द्र गुरुङको संयोजकत्वमा ७ सदस्यीय उपसमिती गठन गरिएको छ । कार्यक्रममा प्रचारप्रसारमा भिम पराजुली, आर्थिक समितीमा केशव वहादुर थापा, स्वयंसेवक प्राविधिकमा राजन बडगामी, खाजा तथा खानामा तिलक बहादुर अधिकारी,अतिथी सत्कारमा नन्दकला नेपाली र मञ्च व्यवस्थापन नारायण भण्डारीलाई संयोजक तोकिएको छ ।
तस्विरः सुदर्शन रञ्जित