पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले यसै वर्षदेखि प्रदेशका पूर्णअशक्त व्यक्तिको निशुल्कः स्वास्थ्य बिमा गराउन पहल गर्ने बताएका छन् ।
अपाङ्गता भएका व्यक्तिको हकहितमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाका पदाधिकारीसँग भएको छलफलमा उनले पूर्ण अशक्तको स्वास्थ्य बिमा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका हुन् । राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष खोमराज सुवेदीसहितको टोलीले मन्त्री बरालसमक्ष स्वास्थ्य बिमा कार्यक्रमसहित प्रदेशमा रहेका पूर्ण असक्तको तथ्याङ्क सङ्कलन गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य बिमामा फिजियो थेरापी, हेमोफेवियालगायत रोगको उपचार गर्न, उपचार सहज तथा सरल गराउनका लागि आवश्यक औषधि उपलब्ध गराउन र पायक पर्ने अस्पतामला उपचार गर्ने वातावरण बनाउन सहभागीहरुले मन्त्री बरालसमक्ष माग गरेका थिए ।
विसं २०६८ को जनगणनाअनुसार प्रदेशमा करिब ५७ हजार अपाङ्गता भएका व्यक्ति रहेकामा दुई हजार पूर्णरूपमा अशक्त भएका अध्यक्ष सुवेदीले बताए ।