भियतनाममा चीनले बनाएकाे सहरी रेलवे सञ्चालनमा

भियतनामी राजधानी हनोईका अधिकारीहरूले चीनद्वारा निर्मित क्याट लिन्ह-हा डोङ मेट्रो लाइन परियोजनाको उद्घाटन गर्दै यो व्यावसायिक सञ्चालन सुरु गर्ने देशको पहिलो मेट्रो लाइन बनेको बताएका छन्।

उक्त परियोजना हनोईलाई यसको लगानीकर्ता भियतनामी यातायात मन्त्रालयले सोही दिन हस्तान्तरण गरेको छ।

मेट्रो लाइनका सबै यात्रुले पहिलो १५ दिनसम्म नि:शुल्क रूपमा आवतजावत गर्न सक्नेछन्।

शनिबार बिहान नि:शुल्क दुईतर्फी यात्रा गरेपछि हनोईको थान जुआन जिल्लाकी ३० वर्षीय यात्री होआङ थि हुओङले मेट्रो लाइन आफूले विदेशमा देखेको जत्तिकै आधुनिक भएको प्रतिक्रिया दिएकी छिन्। ‘अब मलाई काममा जाँदा हरेक बिहान भीडको चिन्ता लिनुपर्दैन’, हुओङले भनिन्।

सहरमा यातायात सहज बनाउन थप सहरी रेलवे परियोजनाहरू निर्माण गरिने भएकाे छ। १२ स्टेसन भएको एलिभेटेड लाइन १३ किमिभन्दा बढी छ। प्रत्येक रेल प्रतिघण्टा ८० किमिको गतिमा एक हजार यात्रु बोकेर हिँड्नेछ। एलिभेटेड रेलवे परियोजनाले आधिकारिक रूपमा अक्टोबर २०११ मा निर्माण सुरु गरेको थियो भने यसको परीक्षण डिसेम्बर २०२० मा गरिएको थियो।

प्रतियात्रु टिकटको मूल्य ३० हजार भियतनामी मुद्रा हुनेछ। रासस/सिन्ह्वा

कमेन्टहरु
Loading...