दुबईमा आइतबार राति भएको आइसीसी टि-२० विश्वकपमा भारतमाथि १० विकेटको ऐतिहासिक जित हात पारेको छ । सुपर १२ को आफ्नो पहिलो खेलमा पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतलाई १० विकेटले पराजित गरेको हो ।
हालसम्म विश्वकपमा भारत र पाकिस्तान १३ पटक भिडेका छन्, जसमा भारत हावी थियो । कुनै पनि विश्वकपमा भारतमाथि पाकिस्तानको यो पहिलो जित हो ।
भारतले दिएको १५२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १७-५ ओभरमा विना विकेटको क्षतिमा पुरा गरेको हो । पाकिस्तानको जितमा ओपनरद्वय कप्तान बाबर अजाम र मोहम्मद रिजवान चम्किए । एक सानदार साझेदारीमा दुवै खेलाडीले अर्धशतकिय इंनिङ्स खेले । रिजवानले सर्वाधिक ७९ रन बनाए भने बाबरले अविजित ६८ रन जोडे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर १५१ रन बनाएको थियो । भारतको सुरूवात निकै खराब थियो । घातक बलिङ गरेका पाकिस्तानका शाहीन शाह अफ्रिदीले पहिलो ओभरको चौथो बलमा नै रोहित शर्मालाई शुन्यमा एलबीडब्लू धरापमा पारेका थिए भने तेस्रो ओभरको पहिलो बलमा केएल राहुललाई बोल्ड गरे ।
सूर्यकुमार यादव पनि ११ रनमा पभेलियन फर्किएपछि भारतले ३१ रन बनाउँदा तेस्रो विकेट गुमाएको थियो । उसको लागि कप्तान विराट कोहली र ऋषभ पन्तले ५३ रनको साझेदारी गरे । तर पन्तले ३० बलमा ३९ रन जोडे ।
त्यसपछि भारतीय व्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन् । कप्तान कोहलीले ४९ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा ५७ रन बनाए । रवीन्द्र जडेजाले १३ र हार्दिक पाण्डेयले ११ रन बनाए । भुवनेश्वर कुमार ५ र मोहम्मद शामी शुन्यमा अविजित रहे ।
पाकिस्तानका लागि अफ्रिदीले ३ विकेट लिए । यस्तै हशन अलीले २ तथा शदाब खान र हरिस राउफले समान १ विकेट लिए ।
योसँगै टि-२० विश्वकपमा पाकिस्तानविरुद्ध भारतको अपराजित यात्रामा पूर्णविराम लागेको छ । यसअघि टि-२० विश्वकपमा भारत र पाकिस्तानबीच कुल ५ खेल भएको थियो । भारत ५ खेलमा नै विजयी भएको थियो । पाकिस्तानविरुद्ध भारत सन् २००७ को समूह चरणमा ५ रन, २०१२ को टि-२० विश्वकपमा ८ विकेट, २०१४ कोमा ७ र २०१६ को मा ६ विकेटले विजयी भएको थियो ।