श्रवणदृष्टि विहीन युवाहरुलाई क्षमता विकास तालिम

पोखरा । राष्ट्रिय बहिरा महासंघ नेपालले श्रवणदृष्टि विहीन बालबालिका तथा युवाहरुको क्षमता विकास र शिक्षामा पुहँच पु¥याउनका लागि सञ्चालन गरेको चार दिने तालिम कार्यक्रम पोखरामा शुक्रबार सम्पन्न भएको छ । तालिममा श्रवणदृष्टि विहीन बालबालिका अध्यापन गराइरहेका सृजना बहिरा मावि र अमरसिंह माविका शिक्षकहरुलाईसमेत अभिमुखिकरण तालिम प्रदान गरिएको हो ।

श्रवणदृष्टि विहीन बालबालिकाका अभिभावक र कास्कीका पाँच वटै स्थानीय तहका शिक्षा महाशाखाका प्रतिनिधिहरुलाई अभिमुखिकरण प्रदान गरिएको महासंघका परियोजना संयोजक शंकरसिंह चैशिरले जानकारी दिए ।

अन्तिम दिन शुक्रबार तालिमबाट श्रवणदृष्टि विहीनहरुको क्षमता अभिवृद्धि र उनीहरुको हक सुनिश्चितताबारे जानकारी गराउन सफल भइएको उनले बताए । ‘अपाङ्गता भएका व्यक्तिहरुमा अधिकारका विषयमा अपाङ्गता अधिकार ऐन, २०७४ को बारेमा जानकारी गराइयो,’ उनले भने, ‘तत्काललाई अझ महत्वपूर्ण जारी जनगणना कार्यक्रममा श्रवणदृष्टि विहीनता भनेर लगत राख्न सकिने भएकाले घर परिवारका सदस्यलाई सोही वर्गीकरणमा समावेश गर्न लगाउन सकिनेबारे अवगत गरायौं ।’

श्रवणदृष्टि विहीनताबारे थप प्रष्ट पार्दै उनले भने, ‘सुनाई सम्बन्धी र दृष्टि सम्बन्धी दुवै अपाङ्गता एउटै व्यक्ति भएको अवस्थामा श्रवणदृष्टि विहीनता भनिन्छ ।’
कार्यक्रममा श्रवणदृष्टि विहीन युवाहको क्षमतालाई थप मुखरित र विस्तारित गर्न युवा सञ्जाल विस्तार गर्नेबारे छलफल भएको चैशिरले बताए । तालिममा प्रदेशका ११ जिल्लाबाट ११ युवाहरु सहभागी थिए ।

सरकारको सबैका लागि शिक्षा नीति अनुसार महासंघले श्रवणदृष्टि विहीन भएका बालबालिकाहरुको समावेशी शिक्षामा प्रवद्र्धन आयोजना अन्तर्गत कास्कीमा तालिम सञ्चालन गरेको हो । आयोजना काठमाडौं, रुपन्देही, मोरङ र कास्कीमा सञ्चालन गर्ने लक्ष्यअनुसार पहिलो चरणमा पोखरामा सम्पन्न भएको परियोजनाले जनाएको छ ।

‘श्रवणदृष्टि विहीन बालबालिका शिक्षाको पहुँचमा भएको देखिँदैन । उनीहरुलाई शिक्षाको पहुुँचमा ल्याउनका लागि महासंघले परियोजना सुरुवात गरेको हो,’ उनले भने, ‘उनीहरु सम्बन्धित पढाई हुने सामुदायिक विद्यालयका शिक्षक र तिनका अभिभावकसँगै शिक्षा प्रशासकलाई पनि हामीले अभिमुखीकरणमा जोडेका हौं ।’

जन्मजात श्रवणदृष्टि विहीन भएका बालबालिकालाई अध्ययन गराइरहेका विद्यालयमा जन्मेपछि त्यस्ता समस्या देखिने बालबालिकालाई पनि अध्ययन नछुटाई निरन्तरता दिन अभिमुखीकरणले सघाउने परियोजना संयोजक चैशिरको विश्वास छ ।

श्रवणदृष्टि विहीन बालबालिकाका लागि तयार गरिएको शैक्षिक पाठ्यक्रमलाई उनीहरुसमक्ष सहज सञ्चार गराउने विधिबारे तालिममा सिकाइएको उनले बताए ।
तालिमको स्रोत व्यक्तिको रुपमा महासंघका सिनियर डेफब्लाइन्ट एजुकेटर दुर्गादत्त जोशी, परियोजना संयोजक शंकर सिंह चैशिर र श्रवणदृष्टि विहीन संघ नेपालका अध्यक्ष पुष्पराज रिमाल रहेका थिए ।

महासंघको परियोजना अन्तर्गत नेपालमै पहिलोपटक रुपन्देही मणिग्रामस्थित शान्ति नमूना माविमा श्रवणदृष्टि विहीन स्रोत कक्षा १ वर्षदेखि सञ्चालनमा ल्याएको छ । उक्त विद्यालयमा ९ जना श्रवणदृष्टि विहीन बालबालिका अध्ययनरत रहेको परियोजना संयोजक चैशिरले बताए ।

यसै वर्षदेखि मोरङ विराटनगरस्थित आदर्श माविमा श्रवणदृष्टि विहीन १२ जना बालबालिका परियोजना अन्तर्गत अध्ययन गरिरहेको उनले बताए । परियोजनामा रूपिन्स, सेन्स इन्टरनेसनल र सेन्स इन्टरनेसनल इन्डियाको सहकार्य रहेको छ ।

कमेन्टहरु
Loading...