लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसको समस्या समाधान नभएसम्म देशमा अस्थिरता आउन नसक्ने भएकाले त्यसतर्फ गम्भीर हुन आग्रह गरका छन् ।
जनकपुरधाममा आज लोसपा महिला परिवारले जितिया पर्वको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले मुलुकमा राजनीतिक अस्थितरता कायम रहे पनि सरकारले मधेस समस्या समाधानका लागि गम्भीरता नदेखाएको आरोप लगाए।
उनले मधेस समस्या समाधान गर्न हालसम्म भएका प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको बताए। देशमा सङ्घीय गणतन्त्र स्थापनापछि भएका सबै प्रधानमन्त्रीलाई मधेसको मुद्दाको सवालमा जानकारी गराएको उनले स्पस्ट पारे ।
उनले मधेसका एजेन्डा सुरुदेखि आफूहरूले नै उठाएकोे र अहिले पनि त्यसमा कायम नै रहेको बताए । अध्यक्ष ठाकुरले भने, “संविधान संशोधन, मधेस आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दा फिर्ता, नागरिकता समस्या समाधान, समावेशितालगायत मुद्दा हामीले निरन्तर उठाइरहेका छौँ ।”