पोखरा । गत भाद्र १७ गते आएको अबिरल बर्षाका कारण पर्वत जिल्लाका विभिन्न भु-भागमा थुप्रै जन धनको क्षति भएको छ। पोखरा वागलुङ सडक खण्डका थुप्रै ठाउँमा पहिरोका कारण पैदल तथा सवारी आवागमन समेत निकै कस्टकर रहेको छ। सोहि पहिरोलाई पैदल रुपमा छिचोल्दै गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यद्वारा विभिन्न क्षतिग्रस्त भूभाग तथा घरहरुको निरिक्षण गरेका छन् ।
सोहि क्रममा कुस्मा नगरपालिका वडा नं ३ भिरमुनिको पहिरोमा परि ज्यान गुमाउने एकै घरका रामप्रसाद शर्माको ७४ बर्षे आमा कौशिला उपाध्याय, ३५ बर्षे श्रीमती भगवती शर्मा, १६ र ११ बर्षे छोरी विमला र विनिता र ९ बर्षे छोरा विनोद शर्माको निधन भएको स्थानको निरिक्षण तथा क्रिया बसेको ठाउँमा पुगेर विपद व्यवस्थापन कोष अन्तर्गको रकम पर्वतका प्रमुख जिल्ला अधिकारीको रोहवरमा मृतक प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरेका छन् ।
त्यस्तै कुस्मा नगरपालिकाकै ११ नं वडा सिल्मि, मानडाँडामा डम्बर बहादुर नेपालीको घर पूर्ण क्षति भइ २ भैसी र ३ बाख्रा पहिरोमा पुरिएको स्थान अबलोकन र सोहि स्थान नजिक मानडाँडामै पहिरोका कारण घरले च्यापिएर दिदीको घरमा आएकी ३५ बर्षे बहिनी दुर्गा पौडेल र ६बर्षे छोरा गणेश पौडेल साथै कुस्मा नगरपालिकाकै अम्बोट पहिरोमा परी ५३ बर्षे फुलमायाँ थापाको निधन भएको र निजका परिवारलाई राहत स्वरुप ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ।
विभिन्न पहिरोमा ज्यान गुमाउनुहुने सबै मृतकहरुप्रति हार्दिक श्रद्धान्जली तथा मृतकका परिवारमा धैर्यधारण गर्ने क्षमता प्राप्त होस् साथै हरेक जनताको दुखमा गण्डकी प्रदेश सरकार रहेको समेत मन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गरे ।