पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को आठौं साधारणसभाले नयाँ सञ्चालक समिति चुनेको छ । आइतबार र सोमबार भएको सभाले ठाकुरप्रसाद पन्तको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो ।
निर्देशकमा गीता कार्की, गणेशप्रसाद कोइराला, सन्दीप अर्याल र डा वसन्तराज पंगेनी छन् । सभाले विभिन्न जिल्लामा रहेका युआरएलका शाखामा निरीक्षणका लागि जिम्मेवारीसमेत तोकेको छ । युआरएल लमजुङका लागि सालिकराम अधिकारी, युआरएल दमौलीका लागि रमेश पौडेल, युआरएल दुलेगौडाका लागि नारायण वाग्ले, युआरएल वालिकका लािग डा वसन्तराज पंगेनीलाई जिम्मेवारी दिइएको छ ।
गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युआरएलले लगानी दोब्बर बनाएर सेवा थप्ने निर्णय गरेको अध्यक्ष पन्तले जानकारी दिए । उनले भने, ‘गण्डकीमा रेफरेन्स ल्याबको अवधारणा बुझाउने युआरएललाई सधै अग्रणी बनाउन लगानी थपेर सेवा विस्तार गर्दै छौं । विश्वकै सर्वाेत्कृष्ट प्रविधि, उत्कृष्ट मेसिन र दक्ष जनशक्तिबाट यही सेवा दिइरहेका छौं ।’
युआरएलको पुँजी ३ करोड रहेकोमा ६ करोड बनाउने प्रस्ताव सभाले पारित गरेको अर्थ निर्देशक गणेश कोइरालाले बताए । विश्वव्यापी महामारीले ल्याएका चुनौती सामना गर्दै सेवाग्राहीलाई गुणस्तरीय सेवा दिएर रक्त जाँचमा गण्डकी प्रदेशलाई आत्मनिर्भर बनाउन लागेको उनले उल्लेख गरे । ‘हामीकहाँ आउने सेवाग्राहीलाई डाक्टर वा सम्बन्धित क्षेत्रका प्राविधिकबाट काउन्सिलिङ दिने योजना छ । पुँजी दोब्बर बनाएर सेवालाई अझ गुणस्तरीय र फराकिलो बनाउँछौं ।’
साधारसणसभाले प्रालिको वार्षिक आर्थिक प्रतिवेदन र प्रगति प्रतिवदेन पारित गरेको छ । अब वार्षिक कार्ययोजना अनुसार अघि बढ्ने निर्देशक सन्दीप अर्यालले बताए । स्वास्थ्य मापदण्ड पूरा गरेर विभिन्न ठाउँमा स्वास्थ्य शिविर, सामुदायिक जनचेतना जस्ता सामाजिक उत्तरदायित्वका कार्यलाई पनि अघि बढाइने अर्यालले जानकारी दिए ।
सभाले विभिन्न संघ, संस्थासँग व्यवसायिक साझेदारी गर्ने निर्णयसमेत गरेको छ । २०७० सालमा खुलेको युआरएलको प्रधान कार्यालय पोखराको सभागृहचोकमा छ भने पोखराकै हस्पिटलचोकमा हालै शाखा खुलेको छ । युआरएलले लमजुङ, दमौली, दुलेगौडा, वालिङबाट पनि सेवा दिइरहेको छ । हालसम्म ४ लाखभन्दा बढीलाई सेवा दिइसकेको युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सयभन्दा बढी स्वास्थ्य शिविर र सचेतना कार्यक्रम गरिसकेको छ ।