तनहुँका पत्रकारलाई बीमा

तनहुँ । ब्यासनगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा तनहुँको समन्वयमा जिल्लाका पत्रकारको आरोग्य बीमा गरिएको छ । जिल्लामा रही सक्रिय रुपमा काम गर्दै आएका ६७ पत्रकारको सगरमाथा इन्सुरेन्स बीमा कम्पनी दमौलीबाट बीमा गरिएको हो ।

ब्यासनगरपालिकाले एक पत्रकारलाई रु एक हजार पाँच सय ५० का दरले रु एक लाख तीन हजार आठ सय ५० प्रिमियम भुक्तानी गरिदिएको नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेलले जानकारी दिएका छन् । बाँकी अपुग रकम करिब रु तीन हजार दुई सय महासङ्घ तनहुँले व्यवस्थापन गरेको छ ।

उनका अनुसार कूल रु ६ करोड तीन लाख बराबरको बीमा गरिएको छ । एक जना पत्रकारको रु नौ लाखका दरले बीमा गरिएको उनले जानकारी दिएका छन् । उनका अनुसार रु सात लाख दुर्घटना बीमा र रु दुई लाख स्वास्थ्य उपचारसम्बन्धी बीमा गरिएको छ ।

जिल्लाका पत्रकारको क्षमता वृद्धि तथा लोक कल्याणकारी विज्ञापन लगायतका क्षेत्रमा ब्यासनगरपालिकाले योगदान गर्दै आएको नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य एवं जिल्लाका पूर्वअध्यक्ष प्रदीप काफ्लेले बताएका छन् । रिपोर्टिङको सिलसिलामा पत्रकारहरु हिँडीराख्नुपर्ने भएकाले जोखिम बहनका लागि नगरपालिकाले बीमामा सहयोग गरेको ब्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताएका छन् ।

नगरपालिकाले गत वर्ष रु एक लाखको कोरोना बीमासमेत गरिदिएको थियो । उक्त बीमा पोलिसी मङ्गलबार नगरप्रमुख न्यौपानेले पत्रकारलाई प्रदान गरेका छन्।

 

कमेन्टहरु
Loading...