पोखरा । गण्डकी प्रदेश सरकारले गठन भएको एक महिना बढि हुँदा पनि पूर्णता पाएको छैन । सरकारको बिस्तारको बिषयलाई लिएर सबैतिरबाट बिरोध भएपछि जसपालाई एक मन्त्रालय मात्र दिएर सरकारलाई पूर्णता दिने योजनामा काँग्रेसले तयारी थालेको बिशेष स्रोतको दाबी छ ।
मुख्यमन्त्रीले बिश्वास मत लिने बेलामा जसपासंग अर्थ सहित दुई मन्त्रालयमा सहमति गरेको काँग्रेसले सहमति उलङ्गन गर्दै जलस्रोत,खानेपानी ,सिचाई र उर्जा मन्त्रालयको जिम्मा दिएको थियो । अघिल्लो सहमति तोडिएपछी जलस्रोत मन्त्रालय र कृषी मन्त्रालय दिने गरि मुख्यमन्त्री पोखरेलले जसपाका प्रदेश नेताहरसंग सहमति गरेका थिए ।
काँग्रेसमा मन्त्री बनाउने बिषयमा बिबाद बढेपछि जसपालाई जलस्रोतमा मात्र थन्काएर अर्की सांसद धनमाया तामाङलाई मन्त्री नबनाउने योजनामा काँग्रेस रहेको छ । यता जसपा भने यो पटक पनि काँग्रेसले सहमति कार्यान्वयन नगरे सरकारबाट बाहिरिने मनस्थितिमा छ । जसपा सरकारबाट बाहिरिने बित्तिकै काँग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले बहुमत गुमाउने देखिन्छ ।
काँग्रेसको सहमति गर्ने र तोड्ने खेलबाट आजित भएको जसपाले यो पटक भने निर्मम निर्णय गर्ने बुझिएको छ ।