बागलुङमा घरेलु मदिरा सेवन गरेका ४ मजदुरको ज्यान गयो, दुई गम्भीर

बागलुङ, ५ साउन– बागलुङको गलकोटमा घरेलु मदिरा सेवन गरेका ४ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर बिरामी छन् ।

गलकोट नगरपालिका–७ मल्ममा सोमबार राती घरेलु मदिरा खाएका १४ जना मजदुर मध्ये ६ जना बिरामी परेका थिए । उपचारको क्रममा धौलागिरी अस्पताल बागलुङमा चार जनाको मंगबालर बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोल्पा सुनिल स्मृति गाउँपालिका– ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

१४ जना मध्ये ६ जनाले गलकोट नगरपालिका ७ मल्मको किराना पसलमा ८ बोतल लोकल रक्सी, चाउचाउ, दालमोठ, बिस्कुट खाएर कोठामा गएपछि बिरामी परेको खवर आएको थियो । घटनाको बिषयमा थप अनुसन्धान हुने हवारीले बताए ।

अन्य दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए ।

रोल्पा सुनिलस्मृति गाउँपालिका ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनको उपचार भइरहेको छ । दुवैको किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए ।

कमेन्टहरु
Loading...