पोखरा । काँग्रेस नेतृत्वको गण्डकी सरकारले भ्रष्टाचारबाट आफ्नो कामको शुरुवात गरेको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदिय दलका नेता तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आरोप लगाएका छन् । आज पत्रकार सम्मेलनको आयोजना गरि गण्डकी सरकारले भ्रस्टाचारबाट आफ्नो कामको शुरुवात गरेको गुरुङले आरोप लगाएका हुन् ।
भर्खर गठन भएको प्रदेश सरकारले १० दिनमा काम सकिदै नसकिने योजनामा १६ करोड रुपैया रकमान्तर गराउनु भ्रस्टाचारलाई अगाडी बढाउनु भएको उनले बताए । यदि यसरी नै विकासका कामलाई छोडेर मनोमानी ढंगले काम गरेमा नेकपा एमाले कडा प्रतिरोधमा उत्रने समेत उनले चेतावनी दिए । तर समग्र गण्डकी प्रदेशको विकासमा जो कोही भएपनि पूर्णरुपमा नेकपा एमालेको साथ रहने उनको भनाई थियो ।
गत जेठ २९ गते नेपाली काँग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गण्डकी सरकार गठन भएको थियो । आर्थिक मसान्त सकिन १० दिन मात्र रहँदा गण्डकी सरकारले १ सय बढी योजनालाई १६ करोड रुपैयाँ रकमान्तर गरेको थियो ।