तनहुँमा बाढी र पहिरोको बितन्डा, पक्की पुल बगायो, आवतजावत बन्द

तनहुँ संवाददाता । अविरल वर्षासँगै आएको बाढी र पहिरोले तनहुँमा बितण्डा मच्चाएको छ । बाढीले व्यास नगरपालिका १ र १३ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि बुद्धसिंहमार्ग अवरुद्ध भएको छ भने केसवटारबाट दमौली आउने सर्बसाधारको आवतजावत बन्द भएको छ ।

पहिरोले शुक्लागण्डकीको दुईवटा धरमा क्षति
शुक्लागण्डकी नगरपालिका ९ स्थित सिम्लेमा पहिरो खस्दा दुईवटा घरमा क्षति भएको छ । स्थानीय खगिसरा भुजेलको दुइृ वटा घर पुरिएको छ । घर पुरिदा १५ वर्षीय बिज्ञान भुजेल घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए । निरन्तरकाृे बर्षाका कारण घर माथिबाट पहिरो खस्दा भुजेलको घर पुर्ण रुपमा क्षति भएको हो । पहिरोमा परी एक जना घाइते भएका थिए, उनले भने ।

बन्दीपुरमा दुई बेपत्ता
पहिरोमा परी बन्दीपुरमा दुई जना बेपत्ता भएका छन् । बेपत्ताको उद्धारका लागि प्रहरी घटनास्थलमा जाँदै गरेको डिएसपी तिमिल्सिनाले बताए । पहिरोका कारण सडक जताततै अवरुद्ध भएकाले प्रहरीहरु हिँडेरै उद्धारमा खटिएको उनले बताए । पैदल जानुपर्दा केही समय ढिला भएको उनको भनाइ छ ।

पृथ्वीराजमार्ग अवरुद्ध
पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । घाँसीकुवा, छिर्कने, डुम्रे, म्याग्देलगायत आधा दर्जन ठाउँमा पहिरो खसेको छ । जसका कारण सयौ सवारी साधन रोकिएका छन् । राजमार्ग सुचारुका लागि डोजर लगाएर खोल्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यांलय तनहुँले जनाएको छ ।

कमेन्टहरु
Loading...