‘हरित आवास’ परियोजना पोखरामा आउने

पोखरा, २० माघ /वातावरणमैत्री आवास योजना सहित एक परियोजनाले पोखरामा काम गर्ने तयारी गरेको छ । उसले पोखरामा वातावरणमैत्री हाउजिङको कन्सेप्टमा आफ्नो कार्य सम्पादन गर्ने योजना बनाएको छ । परियोजनाले बनाउने आवासहरु सस्तो र गुणस्तरिय हुने उसको दाबी छ ।

आवास तथा स्थानिय प्रविधि विकास केन्द्र नामक संस्थाले अन्य पाँचवटा संस्थाहरुसंग मिलेर पोखरामा यस्तो परियोजना संचालनमा ल्याउने सोँचलाई मुर्तता दिन लागेको हो । उसले पोखराका अन्य निर्माण कम्पनीहरुसंग पनि सहकार्य गर्ने जनाएको छ । ‘शहर ग्रामिण क्षेत्र दुवै क्षेत्र हाम्रो टार्गेट हुन् ।’ संस्थाका सदस्य सचिव बद्रिराज भण्डारीले भने–‘वातावरणमैत्री आवास निर्माण गरि वातावरणमा सन्तुलन ल्याउने हाम्रो सोँच हो ।’

काठमाण्डौका विभिन्न स्थानमा हाउजिङ निर्माण गरिरहेको संस्थाले चाँडै नै पोखरामा पनि यस्तै खाले परियोजना संचालन गर्ने भएको हो । यद्यपी यो संस्थाले यसअघि पनि पोखरामा आफ्नो कार्य देखाईसकेको छ । कर्मचारी संचय कोषको लगानीमा २०५३ सालमा निर्माण भएको पोखरा विरौटास्थित पुरानो यातायात कार्यालयको भवन संस्थाले ‘हरित आवास’कै रुपमा निर्माण गरेको भवन हो ।

‘यस्ता भवनहरुमा ब्लकको प्रयोग हुन्छ, जुन ब्लक सामान्य ब्लकको तुलनामा धेरै गुणस्तरिय हुन्छन् ।’ सदस्य सचिव भण्डारीले भने–‘यस्तो आवास निर्माणका लागि लागत पनि निकै कम हुनुका साथै भुकम्पिय जोखिम अति न्यून हुन्छ ।’ अहिले आवास निर्माणका लागि भट्टिमा पोलिएका ईट्टाको प्रयोग भैरहेका छन् । संस्थाले भने ईट्टाको प्रयोगले गर्दा वातावरणमा त्यसको नकारात्मक असर पर्दै गएको दाबी गरेको छ । लागतको हिसाबले पनि हरित आवास गृह बनाउँदा हाल भैरहेको निर्माणप्रकृयाभन्दा २० प्रतिशत कम रकम लाग्ने उसको दाबी छ ।

यद्यपी हाल संरचना निर्माणमा कार्यरतहरुले भने ब्लक ठुला संरचना निर्माणका लागि कमजोर मानिने भएकोले ईट्टाको प्रयोग बढि हुने गरेको बताउँदै आएका छन् । ‘हाल बजारमा नन बियरेबल ब्लकहरुको मात्र प्रयोग हुँदै आएको छ, जुन पक्कै पनि ईट्टाभन्दा कमजोर मानिन्छ ।’ पोखरा कंक्रिट ब्लक उद्योग संघका अध्यक्ष अनामराज शर्माले भने–‘तर बियरेबल ब्लक ईट्टाभन्दा अझै बढि बलियो हुन्छ ।’ हरित गृह निर्माणका लागि पोखरा आउने योजना बनाउँदै गरेको परियोजनाले समेत ‘बियरेबल ब्लक’को प्रयोग गरि आवास निर्माण गरिने बताएको छ ।

हरित आवास परियोजनाका परिकल्पनाकार भने ईन्जिनियर भुवनेश्वरलाल श्रेष्ठ हुन् । उनले ३५ वर्षदेखि निरन्तर अध्ययन गरि यस्तो खालको आवास संरचनाको डिजाईन् गरेका हुन् । यो परियोजनाले हरित आवास निर्माणका लागि जनचेतना समेत जगाउँदै आएको छ । संस्थाले हाल पोखरामा जारी औद्योगिक व्यापार मेलाबाट यससम्बन्धि जानकारी दिँदै आएको छ ।

कमेन्टहरु
Loading...