राजु गिरी ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा गण्डकी सरकारकाे प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले नेपालको मुर्ख मुख्यमन्त्री आफु भएको बताएका छन् । गण्डकी प्रदेश सभामा आज कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा विश्वासको मतको प्रस्तावमाथीको छलफलमा पुर्व मुख्यमन्त्री गुरुङले व्यंग्य गर्दै आफू मुर्ख मुख्यमन्त्री रहेको बताएका हुन् ।
मुख्यमन्त्री पद छोड्नु भन्दा अगाडी प्रतिपक्षलाई सजिलो हुने काम गरेकाले आफुलाई मुर्ख मुख्यमन्त्रीको संज्ञा उनले दिएका हुन् । ‘प्रतिपक्षलाई सजिलो हुने काम कुनै मुख्यमन्त्रीले गर्छ ? यो दुनियामा, यो नेपालमा मुर्ख मुख्यमन्त्री मै हुँ । जसले तपाइ(प्रतिपक्ष) लाई ठुलो ठाँउ खोलिदिएको छ । म जाँदा जाँदै यो नगर्ने भनेर पुरानै कायम गर्ने भनेर एउटै निर्णयले गर्न सकिन्थ्यो । तर मैले त्याे चाँहिन । म समग्र प्रदेशकाे विकास चाहने व्यक्त्ति हाे ।’ – उनले भने ।
जसको सरकार आएपनि गण्डकी प्रदेश राम्रो व्यवस्थापनका साथ चल्न सक्नुपर्ने उनको भनाई थियो । साथै संघियताको पक्षमा आफु सधै सदैब रहने उनकाे जिकिर थियाे ।
संघियताको मुल जग प्रदेश भएकाले यसलाई बलियो बनाउन आफ्नो साथ रहने प्रतिवद्धता व्यक्त गरे । यद्यपी मुख्यमन्त्री पोखरेलले मागेका विश्वासको मतलाई अहिल्यै नै विश्वास गरिहाल्ने अवस्था नरहेको भन्दै विश्वासको मत दिन नसक्ने उनले बताए ।