पोखरा । अग्रपंक्तिमा खटिने र विपन्न नागरिकलाई निशुल्क आयुर्वेद औषधी वितरण अभियान सञ्चालन गरिरहेको नेपाल आयुर्वेद औषधि व्यवसायी संघ गण्डकी प्रदेशले बुधबार तनहुँ र नवलपुरका स्थानीय तहमा कार्यक्रम सम्पन्न गरेको छ ।
तनहुँको व्यास र भानु नगरपालिकाको आयुर्वेद औषधालयमा अभियान अन्तर्गत कोरोना संक्रमितको रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने गुण भएका औषधि वितरण गरियो ।
तनहुँ व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेलाई प्रत्यक्ष भेट गरी आवश्यक मात्राको उक्त औषधि हस्तान्तरण गरिएको स्वयंसेवक उपसमिति संयोजक कृष्ण राउतले जानकारी दिए । भानु नगरपालिका वडा ४ का अध्यक्ष पूर्णबहादुर लौडारी भाटको समन्वयमा त्यहाँ आयुर्वेद औषधालयलाई औषधि हस्तान्तरण गरिएको थियो ।
प्राकृतिक चिकित्सा पद्दतिलाई अवलम्बन गर्दै नगरपालिकाले आगामी दिनमा थप कार्यनीति मार्फत प्रवद्र्धन गर्न लागि पर्ने व्यास नगरका मेयर न्यौपानले बताए ।
कोरोना संक्रमितको रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधि नगरलाई उपलब्ध गराई सहयोग गरेको उनले अभियानप्रति आभार जनाए । नगरले गर्नुपर्ने त्यससम्बन्धी कामका लागि पनि उनले सुझाव माग गरे।
त्यस्तै नवलपुरको गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनिया थारुलाई औषधि हस्तान्तरण गरी अभियान सञ्चालन गरिएको संघका अध्यक्ष राजुकुमार पौडेलले जानकारी दिए ।
आयुर्वेदको महत्व कोरोनापछि झनै बढेकाले यसको गुण बुझाउन समग्र सञ्चारजगतलाई आग्रह गर्दै गैंडाकोट नगरका मेयर पौडेलले आफ्नो सदैव सकारात्मक सहयोग रहने प्रतिबद्धता जनाए । प्रदेश सरकार मार्फत थप कार्यक्रम समावेश गर्नकालागि संघले खेल्ने रचनात्मक भूमिका र पैरवीका लागि आफू समन्वय गर्न तयार रहेको उनको भनाई थियो । उक्त नगरमा अभियानका लागि आयुर्वेद शाखाका विष्णु पौडेल र कलाकार हिमाल रिजालले सहजीकरण गरेका थिए ।
कावासोती नगरका उपमेयर प्रेमशंकर मर्दनिया थारुले संक्रमितलाई वितरण गर्ने औषधिसहितको किटमा आयुर्वेद औषधि समेत समावेश गर्ने बताए । संकटमा नगरले सहयोगीबाट अपेक्षा गरिरहेको सन्दर्भ सुनाउँदै उनले स्रोतको उपलब्धताअनुसार आफैं पनि खरिद गरेर थप पूर्ति गर्न सक्नेतर्फ ध्यान दिने बताए ।
विपद् व्यवस्थापन समितिको संयोजक समेत रहेका उपमेयर थारुले हस्तान्तरण गरिएको आयुर्वेद औषधि नगरका आइसोलेसनमा वितरणका लागि आयुर्वेद शाखाका कर्मचारीलाई निर्देशन दिए । आयुर्वेद शाखाका गोविन्द पौडेलले सोही अनुसार उपयोगका लागि सङ्क्रमितलाई पुर्याईने जनाए ।
गुड्ची चूर्ण, यष्टीमधु चूर्ण, त्रिकटु चूर्णलाई मिश्रण गरी खल विधिबाट तयार गरिएको आयुर्वेद औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्ने संघका कोषाध्यक्ष रमेश चापागाईले बताए ।
तनहुँमा अभियान सञ्चालानार्थ जिल्ला आयुर्वेद संघका अध्यक्ष भानु चापागाई सहित व्यवसायीहरु ताराप्रकाश थापा र ईश्वर नेपालले समन्वय गरेका थिए । नवलपुरमा संघका जिल्ला अध्यक्ष गणेश आचार्यले सहजीकरण गरेका थिए । सङ्घका सचिव डा दीपक भुसालले होम आइसोलेशनमा रहेका सङ्क्रमितलाई आवश्यक मनोपरामर्श सेवा सन्चालन गरिरहेको बताए ।
अभियानअन्तर्गत टोलीमा प्रदेश उपाध्यक्ष डि बि कुमाल, सहसचिव लक्ष्मी शर्मा चापागाई, सदस्य राजेन्द्र अधिकारी, विनिता डुम्रे र नवलपुरका सल्लाहकार टेक बहादुर भुजेल सहभागी थिए । संघले सञ्चालन उक्त अभियानमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गण्डकीको एक्येबद्धता रहेको स्वयंसेवक संयोजक कृष्ण राउतले बताए ।