बाढीले लमजुङमा १५ घर बगायो, हिलेबजारको १२० घर जोखिममा

पोखरा ।
सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले लमजुङको दोर्दी गाउँपालिकाका १५ घर बगाएको छ । दोर्दीखोलामा आएको बाढीले दोर्दी गाउँपालिका ८ हिलेबजारका १५ घर बाढीले बगाएको हो ।

 

मंगलबार बिहानबाट पसेको बाढीले पक्की घर र जस्ताले बनाइएका घर गरी १५ घर बाढीले बगाएको प्रहरीले जनाएको छ । घर बगाएका स्थानीय र घर जोखिममा परेका स्थानीयलाई फलेनी माध्यमिक विद्यालयको भवनमा राखिएको छ ।

प्रहरीका अनुसार दोर्दी गाउँपालिका ६ किर्तिपुरका कृष्ण घलेको कुखुराको खोरसमेत बाढीले बगाएको छ । बोइलर र लेयर्स गरी करिव पाँच सय कुखुरासहित खोर बगाएको दोर्दी गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले बताए । उनका अनुसार हिलेबजारका एक सय बढी घर छन् ।

अधिकांश घर जोखिममा परेको उनले बताए । स्थानीय एवं वडा सदस्य चन्द्रबहादुर गुरुङका अनुसार बजार तल रहेको खोला बढ्दै आएपछि बजारका क्षति पुर्‍याएको हो । उनका अनुसार हिलेबजारमा करिव एक सय २० घर छन् । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले हिलेबजारका वस्ती जोखिममा रहेको जानकारी दिए ।

कमेन्टहरु
Loading...