मनसुन भित्रिएको चौथो दिनमा भारी वर्षासँगै मुलुकका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोका कारण ठाउँठाउँको जनजिवन प्रभावित भएका छ । मुख्यगरी गण्डकी र लुम्बिनी प्रदेशमा बढी असर गरेको छ । सोही प्रदेशका विभिन्न पहाडी जिल्लामा भारी वर्षा हुँदा मुख्य नदी र सहायक नदीमा अप्रत्याशित रुपमा बाढी आएको छ । अन्य केही प्रदेशका सीमित क्षेत्रमा प्रभाव छ ।
केही जिल्लामा मानिसको मृत्यु भएको छ भने जोखिम क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।
मनाङको चामे बजार र तालगाउँमा बाढीले झण्डै एक दर्जन घरमा क्षति पुगेको छ ।
त्यस्तै दर्जनौँ घर डुवानमा भएको र सो क्षेत्रमा जोखिममा रहेका गरी तीन सय बढी मानिसलाई सुरक्षित ठाउँँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए । उनका अनुसार आज सम्भव नभएपछि बाढी पहिरोबाट प्रभावित भएकालाई बुधबार हेलिकप्टरमार्फत राहत लैजाने तयारी गरिएको छ ।