निशुल्क आयुर्वेद औषधि वितरण अभियान स्याङ्जा र तनहुँमा पनि पुग्यो

पोखरा ।

अग्रपंक्तिमा खटिने र विपन्न नागरिकलाई निशुल्क आयुर्वेद औषधी वितरण अभियान सञ्चालन गरिरहेको नेपाल आयुर्वेद औषधि व्यवसायी संघ गण्डकी प्रदेशले शुक्रबार र शनिबार गरी स्याङ्जा र तनहुँका स्थानीय तहमा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार स्याङ्जाको वालिङ नगरपालिका र फेदीखोला गाउँपालिकामा अभियान अन्तर्गत कोरोना संक्रमितको रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने गुण भएका औषधि वितरण गरिएको हो ।

शनिबार तनहुँको व्यास नगरपालिका वडा ६ स्थित शिशाघाटमा आयुर्वेद औषधि वितरण भएको स्वयंसेवक उपसमिति संयोजक कृष्ण राउतले जानकारी दिए । स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड–१९ प्रोटोकलअनुसारको औषधि वालिङका मेयर दीलिपप्रताप खाँडसहितको जनप्रतिनिधि टोलीलाई हस्तान्तरण गरिएको संघका अध्यक्ष राजुकुमार पौडेलले जानकारी दिए । कोरोना महामारी नियन्त्रणमा सबै उपचारका विधि अवलम्बन गरिने वालिङका मेयर खाँडले बताए । आयुर्वेदसँग सहकार्य गरेर नगरपालिकामा वैकल्पिक चिकित्सा पद्दतिलाई प्रवद्र्धन गरिने उनको भनाई थियो ।

आगामी योजनामा आयुर्वेद क्षेत्रको उन्नयनका लागि कार्यक्रम नै ल्याइने उनले सुनाए । उनले संघको सहयोगप्रति आभार जनाए । उपमेयर कल्पना तिवारीले प्रकृतिले प्रदत्त गरेको वस्तु उपयोग गर्दै कोरोना रोकथाममा अघि बढ्ने बताइन् । हालसम्म सहयोगीहरुले उपलब्ध गराएको ‘प्राणबुटी’ले संक्रमितका लागि राहत भएको उनको भनाई थियो । खहरे धानुबासे आयुर्वेद औषधालयका प्रमुख हरि अर्यालले आयुर्वेदका लागि बजेट नभएकाले आगामी वर्ष समावेश गर्न आग्रह गरेका थिए । गुड्ची चूर्ण, यष्टीमधु चूर्ण, त्रिकटु चूर्णलाई मिश्रण गरी खल विधिबाट तयार गरिएको आयुर्वेद औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्ने संघका सचिव तथा आयुर्वेद चिकित्सकीय परामर्श उपसमिति संयोजक डा दीपक भुसालले बताए । वालिङ आइसोलेसनमा रहेका संक्रमितलाई उक्त औषधि उपमेयर तिवारीसहितको टोलीले तुरुन्तै उपभोगका लागि पु¥याएको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजन भट्टराई, स्वास्थ्य शाखा प्रमुख कमल पाण्डे, इलाका प्रशासन कार्यालयका अधिकृत नवराज बराल, इलाका प्रहरीका इन्स्पेक्टर हरि पौडेल आयुर्वेद संघका स्याङ्जा जिल्ला संयोजक शिव केसी र पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतको उपस्थिति थियो । स्याङ्जाकै फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले आयुर्वेद औषधालय नभएको तहमा सोध्दै र खोज्दै अभियान आइपुगेकोमा प्रशन्नता जनाए । औषधालय सञ्चालनका लागि प्रदेशमा ताकेता गरिहेको भएपनि थप प्रगति हुन नक्सदा सञ्चालन गर्न नपाएको उनले बताए ।

गाउँपालिकाले आयुर्वेदप्रति चासो राखिरहेकाले पनि कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम ‘हाम्रो फेदीखोला’मा आयुर्वेद र जडिबुटी सम्बन्धी विषय समावेश गरेर छपाई गर्न लागेको अध्यक्ष सुवेदीले जानकारी दिए । थप प्रवद्र्धनात्मक कार्यक्रमका लागि निजी व्यवसायीसँग पनि सहकार्य गरेर अघि बढिने उनको भनाई थियो । औषधि हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवि बराल, स्वास्थ्य संयोजक खिमप्रसाद पौडेललगायतको उपस्थिति थियो ।

अभियानले तनहुँको व्यास नगरपालिका वडा ६ शिशाघाटस्थित वडासदस्य ढालप्रसाद घिमिरे र आयुर्वेद औषधालयका वरिष्ठ वैद्य सुरेन्द्र ठाकुरलाई औषधि हस्तान्तरण गरेको थियो । शिसाघाट आमा समूहकी अध्यक्ष जैनमाया गिरि र उपाध्यक्ष लक्ष्मीकुमारी चापागाईले अभियानलाई स्वागत गरेका थिए । संघको अभियान लिएर स्याङ्जा र तनहुँमा स्वयंसेवक उपसमितिका संयोजक कृष्ण राउत, अध्यक्ष राजुकुमार पौडेल, सचिव डा दीपक भुसाल, कोषाध्यक्ष रमेश चापागाई, सहसचिव लक्ष्मी शर्मा चापागाई, सदस्य राजेन्द्र अधिकारी पुगेका थिए । संघले सञ्चालन उक्त अभियानमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गण्डकीको एक्येबद्धता रहेको स्वयंसेवक संयोजक कृष्ण राउतले बताए ।

कमेन्टहरु
Loading...