राजु गिरी, पोखरा ।
पृथ्वीसुब्बा गुरुङले मन्त्री राजिब गुरुङ ‘दिपक मनाङ’ प्रति इङ्कित गर्दै सबै रत्नाकारहरु बाल्मिकी नबन्दा रहेछन् भन्ने प्रतिक्रिया दिएका छन् । मुख्यमन्त्रीबाट पृथ्वीसुब्बा पदमुक्त भैसकेपछि आज बिहान पत्रकार सम्मेलन गर्दै दिपक मनाङेलाई बाल्मिकी बनाउन असमर्थ रहेको जिकीर गरेका हुन् ।
मन्त्री दिपक मनाङेलाई तपाइले नै पहिलो पटक मन्त्री बनाउनु भो, जिम्मेवारी दिनु भो नी ? भन्ने प्रश्नमा निवर्तमान मुख्यमन्त्री गुरुङले भने– ‘उनलाई बाल्मिकी बन्छन् कि भनेर ल्याएको, उनी बाल्मिकी बन्न सकेनन् । सबै रत्नाकारहरु बाल्मिकी नबन्दा रहेछन् । उनलाई बाल्मिकी बनाउने प्रयास असफल भयो ।’
केही समयअघि सम्म गण्डकी प्रदेशमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ सरकारको साथ दिएका स्वतन्त्र सांसद् दिपक मनाङेले अहिले गठबन्धलाई साथ दिएका छन् ।