मुख्यमन्त्री ज्यु तपाईंलाई ज्यान मुद्दा किन नलगाउने ?

  • सौगात पोखरेल

नेपालमा कोरोना संक्रमण बढेसँग गण्डकी प्रदेशमा पनि कोरोना संक्रमण दर बढेको छ । कोरोना संक्रमण दर मात्र होईन बरु जटिल अवस्थाका कोरोना संक्रमितहरुको संख्या पनि बढिरहेको छ । कोरोनासँग लड्नका लागि हाम्रो प्रदेशसँग केहि तयारी छैन । हल्ला र गफमा मात्र गण्डकी प्रदेश चलिरहेको छ । त्यसले हिजो राती गण्डकी अस्पतालमा निम्तिएको घटनाहरु दोहोरिरहने कुरामा दुईमत छैन ।

मुख्यमन्त्री ज्यु सरकारी लापरबाहिका कारण गण्डकी अस्पतालमा बिहिबार रातभरमा सात जनाले ज्यान गुमाए । ति संक्रमितहरुको मृत्युको खवरले तपाईंलाई पोल्छ कि नाई थाह छैन तर म रातभर निदाउन सकेको छैन । तपाईंलाई थाह छ कि छैन अक्सिजन नपाएर बेडमा छटपटिएर ज्यान गुमाउने सुत्केरी महिला तपाईंकै जिल्ला कि हुन । सायद तपाईंको सुचना संजालबाट जानकारी पनि पाउनु भयो होला । ति मृतककी श्रीमानको आँखा अझै ओभाएको छैन । जन्मदै गरेको शिशुले आमा गुमाउनु परेको छ । त्यो पनि सरकारी उदासिनता र लापरबाहिको कारणले । सुत्केरी महिलाजस्तै अन्य छ जनाले पनि अक्सिजन नपाएर ज्यान गुमाएका छन् । अक्सिजन नपाउनुपर्ने अवस्था सिर्जना हुनुको जिम्मा तपाईंले लिन पर्छ कि पर्दैन । त्यति धेरै मान्छेले ज्यान गुमाईसकेपछि प्रदेश सरकारले मृतकहरु बारे आफ्नो धारणा किन सार्वजानिक नगरेको ?

भएका बिरामीहरुलाई त अक्सिजन पु¥याउन सक्नु भएको छैन भने ४५० बेड बिस्तार गरेर कसरी तपाईं संक्रमितहरुको उपचार गाउने व्यबस्था मिलाउनु हुन्छ ? कुलमान हटेपछि देशभर लोडसेडिङ छ । देशभर जस्तै पोखरामा पनि बत्ति आउने जाने भईरहन्छ । अक्सिजन उत्पादन हुने ठाउँमा ४५ मिनेट लाइन जाँदा पोखरामा अक्सिजनको हाहाकार मच्चियो आधा दर्जन बढिले ज्यान गुमाउन पर्यो । अरु केहि गर्न नसकिएपनि अक्सिजन उत्पादन हुने ठाउँमा २४ घण्टा नै बक्तिको बन्दोबस्त छ गर्न सकिन्थ्यो नि होईन मुख्यमन्त्री ज्यु ? तपाईंको सरकारले त त्यो पनि गर्न सकेन । बस मृतकहरुको लाश मात्र गनेर बसिरह्यो ।

अर्को कुरा बिभिन्न निर्णय गर्दा फास्ट ट्र्याकबाट गर्ने तपाईंले संघिय सरकारसँग संयोजन गरेर गण्डकी अस्पतालमा निर्माण हुन लागेको ७४ करोड बराबरको अक्सिजन प्लान्टको कामलाई किन फास्टट्र्याकबाट गर्न सक्नु भएन । अस्पतालमा रहेका बिरामीहरु अक्सिजन नपाएर बसिरहने अनि तपाईं निर्देशन मात्र दिएर बस्ने हो कि तयारीमा प्रत्यक्ष निगरानी पनि गर्ने हो ?धेरै साथीहरुलाई लाग्न सक्छ अस्पतालमा बिरामी मर्नु त अस्पतालको दोष हो नि ? तर त्यसो होईन पोखरामा अक्सिजन उत्पादन हुने दुई निजि कम्पनीहरुमा लाइन गएका कारण अक्सिजन उत्पादनको रेसियो घट्यो । यस्तो बेलामा पनि त्यस्तो संबेदशिल ठाउँमा लाइन नकाट्नका लागि प्रदेश सरकारले पहल गर्न सक्थ्यो त्यो गरेन । आधाउधी काम सकिएको ७४ करोडको अक्सिजन प्लान्टलाई संचालनमा ल्याउन पथ्र्यो त्यो पनि सकेन ।

अर्को अजिबको कुरा त के छ भने पोखराको सरकारी अस्पतालमा ग्यास अभाव भयो तर निजि अस्पतालमा भएन । कतै अक्सिजन बितरणमा नै गोलमाल त छैन । त्यसको निगरानी कसरी भईरहेको छ ? अक्सिजन पाएको खण्डमा हिजो मृत्यु भएका धेरै बिरामीहरु बच्न सक्थे तर अक्सिजन अभाबमा ज्यान गुमाउनु पर्यो । त्यसको जिम्मा प्रदेशको मुख्यमन्त्री भएको हिसाबले तपाईंले लिनुपर्छ कि पदैन ?

बिरामीहरु अक्सिजन नपाएर अस्पतालको बेडमा मृत्युसँग जुधिरहेका छन् । तपाईं निर्देशन दिनका लागि बैठक बसाल्नु हुन्छ । सरकारी लापरबाहिका कारण जनताको मृत्यु भएको छ । त्यसको जिम्मा तपाईले लिनुपर्छ कि नाई ? मुख्यमन्त्रीको हैसियतले यो प्रदेशका जनताको जिउधनको रक्षा गर्नुपर्ने दायित्व तपाईंको हो कि होईन ? यदि त्यो दायित्व तपाईको हो भने तपाईले दायित्व पुरा नगरेबापत तपाईंलाई ज्यान मुद्दा किन नलगाउने ?

कमेन्टहरु
Loading...