सचेत युवापुस्ताले कहिले चेत्ने ?

  •   बिनोद लामिछाने

संस्कृतमा एउटा उखान छ “दुग्धोधौतोपी किं ..याती बायस:कलहंसताम ” अर्थात दुधले नुहाइदिए पनी काग कहिल्यै हाँस हुन सक्दैन । यो उखान नेपालका बर्तमान राजनैतिक नेताहरु र शासक प्रती हु-बहु मिल्न जान्छ । हामी नेपालीहरुले पनी परिबर्तनको आशामा बर्षाैंदेखी यिनै काला कागहरुलाइ दुधले नुहाएर सेतो हाँस बनाउन भागिरथ र ब्यर्थ प्रयत्न गर्याैं । जसको परिणाम स्वरुप आज मुलुकको अबस्था के भएको छ ? एकछिन गम्भिर भएर मुल्यांकन गरौं त ? आज गहिरिँदै गएको राजनैतिक संकट , बढ्दो बेरोजगारी, चरम गरिबी, आकाँशिदो महँगी र भ्रस्टाचारको दलदलमा भासिएर देश निस्कनै नसक्ने गरी रसातलमा पुगिसकेको छ । त्यो मात्रै होइन, सत्ता र शक्तीको लोभमा बेलाबेलामा खुल्लेआम आमन्त्रण गरिएको बैदेशिक हस्तक्षेपले इतिहासमा कसैको दबाब र रबाफमा नझुकेको देश अन्तराष्ट्रिय शक्तीकेन्द्रहरुको क्रीडास्थल नै बनिरहेको छ ।

देशको मुख्य आइरन शक्ती युवापुस्ता भने अझ पनी यिनै नालायकहरुले बिभाजन गरिदिएको खेमामा बाँडिएर देशको थप अधोगती र बिनासको प्रतिस्पर्धामा प्याला बनेर रमाँउदै हिँडिरहेका छौं । त्यसैले हाम्रो पुस्ताले अब पनी गम्भिर समिक्षा नगर्ने र एउटा उन्नत राजनैतिक चिन्तन र संस्कारको बिकास नगर्ने हो भनेदेखी यो पुस्ता नै सायद इतिहासकै सबैभन्दा नालायक पुस्तामा साबित हुनेछ । आजका दिनसम्म यो पुस्ता त्यही असफल साबित हुने दिशामा उन्मुख छ । अहिले देशमा मुख्यत :तिन खाले युवापुस्ता छ । एकथरी युवापुस्ता बिज्ञान र प्रबिधीसँग जोडीएको छ, तर यो टिमलाई दर्शन, बिचार र राजनिति भन्ने कुरासँग खासै सरोकार छैन । देशमा यस्तो युवापुस्ता अहिले एकदमै धेरै छ । अनी यो पुस्तालाई “राजनिति त फोहोरीहरुले खेल्ने खेल हो” भनेर जबर्जस्त सिकाइएको छ । तसर्थ यो पुस्ता राजनैतिक चिन्तनबाट बिमुख हुँदै छ । यो पुस्ताले बिदेश, पढाई र मोजमस्तीलाई नै जिबनको लक्ष्य मान्छ ।

देशमा कस्ले शासन गर्छ वा कस्ले गर्नुपर्छ भन्ने कुरासँग यो पुस्तालाई सरोकार नै छैन । अर्को युवा पुस्ता अहिले पनी राजनितिमा क्रियाशिल छ , तर यी युवाहरुमा एकाधमा अपबाद बाहेक अधिकांशमा आलोचनात्मक राजनैतिक चेत शुन्यप्राय: छ । आफ्ना नेताको जस्तोसुकै ताण्डब नृत्यलाई पनी यो पुस्ताले राजनैतिक आदर्श मान्छ । अझ भनौं अहिले नेपाली राजनीतिमा सक्रिय युवा पुस्ता सबैभन्दा नर्तकी र गैर-राजनीतिक भैसकेको छ । यो पुस्ता राजनीतिक बिचार, चेत र संस्कार बाट सु-सज्जीत भन्दा पनी धेरै गुट उपगुट र नेताको भजन किर्तनद्वारा दीक्षित छ, अहिले यो पुस्ता आफू र आफ्नो पार्टी नजिकका ‘कमरेडहरु’ र ‘दाइहरु’ कै चर्को स्तुतिगान र त्यसबाट प्राप्त हुने क्षणिक लाभमै रमाइरहेको छ । त्यसैले यो पुस्ताबाट त झन थप राजनैतिक संस्कार र परिबर्तनको आश नै गर्न सकिदैन । देशमा अर्को एउटा सचेत युवापुस्ता छ । यो पुस्ता बर्तमान राजनितिक संस्कार ,पद्धति र नेतृत्व देखेर दिक्क छ । तसर्थ अहिले पनी यो पुस्ता उन्नत राजनैतिक संस्कार र नयाँपनको खोजीमा भौतारीरहेको छ । तर अझै गन्तब्यबिहिन छ । ठोस र मुर्तीकृत हुन सकिरहेको छैन ।

आज भोली यो पुस्ता फगत बिरोधको लागी मात्रै अग्रसर छ । समग्रमा भन्दा देशको युवाशक्तीको हालत यही छ । देशको राजनैतिक परिबर्तनका हरेक कालखण्डमा युवा सतीसाल बनेर उभियो । युवाहरुकै कारण परिबर्तन पनी सम्भब भए तर अहिलेसम्म ति परिबर्तनबाट सोचे अनुरुप आर्थिक सामाजिक रुपान्तरण हुन सकेन । परिबर्तनको आन्दोलनका लागी सफल भएको युवाशक्ति आफुले बिश्वास गरेको राजनैतिक पद्धति, पार्टी र नेतृत्वको गलत प्रवृत्ति विरुद्ध र आफुभित्र उत्पन्न भएका समस्यामा कहिल्यै जुध्न सकेन । त्यस्को परिणामले नै अहिलेको यो राजनैतिक अबस्थाको सिर्जना भएको हो । अहिले आएर युवापुस्ता त झन फगत बुढो राजनैतिक पुस्ताको फाेल्डिङ भर्याङ्ग साबित भएको छ । अंकल र बा हरुलाइ मात्रै चुनाब जिताउने माध्यम भएको छ । राजनितिमा पुर्ण असफल भैसकेका बा र अंकल पुस्ताको लाज छोप्ने टालो बनेको छ । अबको दिनहरुमा हरेक सचेत युवाहरुमा एउटा जागरण आउन जरुरी छ ।

“राजनिति फोहोरी खेल हो” भन्ने सोच राख्ने युवाहरुले हाम्रा हरेक कुरा नै राजनिति राम्रो नराम्रो हुनुले निर्धारण गर्छ भनेर बुझ्न सक्नुपर्छ । त्यसैले मेरो र मैले गर्न पर्ने वा बुझ्न पर्ने सही राजनिति के हो ? भनेर पहिल्याउन सक्नुपर्छ । अहिलेको बिज्ञान प्रबिधी र उत्पादनसँग जोडिएको सक्षम युवा राजनितिमा नआए सधैं असक्षमहरुले नेतृत्व गर्नेछन । अहिले राजनैतिक दलमा आवद्ध युवाहरुले यो असफल “बा” नेतृत्वको बर्तमान अबस्थालाइ मुल्यांकन गरेर अब अघि बढ्न सक्नुपर्छ । बा को थर नागरिकतामा राखे झैं बा को राजनितिक दल टाउकोमा राखेर हिँडिराख्नु पनी पर्दैन । युवाहरु एक दिन लोभ लालचाले चुनाबमा बिक्दा देशले दशकाैं बर्ष उल्टो दिशा तय गरेको छ ।

त्यसैले मुख्यत: अहिले सचेत राजनितिक चेतना भएको युवाले देशको अबस्थालाइ निर्मम समिक्षा गरेर सही गलत छुट्टाउन सकिएन भने हाम्ले त के हामी भन्दा पछिल्लो पुस्ताले नी समुन्नत नेपाली समाज देख्नेछैन । अब गलतको फगत बिरोध मात्रै होइन एक्सनमा जाने हिम्मत गरौं । हरेक युवाहरुलाई सकरात्मक राजनितिक दिशामा लाग्न बिचार प्रबाह गरौं । एउटा नयाँ राजनैतिक चिन्तन सहित अघी बढाैं । गफमा मात्रै होइन उत्पादनमा जाेडिने हिम्मत गरौं । साँच्चै देशलाई गती दिने हो भने हाम्रो पुस्ताले देशका निम्ती ओभर टाइम गर्नुपर्नेछ । चर्चित हिन्दी शायर स्व.राहत इन्दोरी लेख्छन – “आपनी तिजोरी त हर कोही भी भरता है !लेकीन ऐसा नेता चुनो जो, देशके लिए कुछ करता है !” लाग युवा ! जाग युवा ! जय युवा !

कमेन्टहरु
Loading...