- सौगात पोखरेल
पोखरा/पछिल्लो समय नेपालमा कोरोना संक्रमण फैलिनुका बिभिन्न कारणहरु छन् । हिजो मुख्य शहरमा मात्र कोरोना संक्रमण फैलिएको थियो तर आज कोरोना संक्रमणको दर शहरमा भन्दा गाउँमा डरलाग्दो गरि बढिरहेको छ । त्यसको मुख्य कारणहरु यसप्रकार रहेका छन् ।
- ठुलो संख्यामा गाउँ प्रबेश
कोरोना संक्रमणको दर बढेसँगै सरकारले निषेधाज्ञा घोषणा गरेसँगै गाउँ फर्कनेहरुको भिड नै बढ्यो । गाउँ फर्कनेहरुसँगै कोरोना पनि गाउँ छिर्यो । शहरमा जस्तो लकडाउनको प्रभाब गाउँमा नपरेको र कोरोना महामारीलाई मध्यनजर गरेर स्वास्थ्य मापदण्ड पुरा नगर्नाको कारणले गाउँ गाउँमा कोरोना फैलिएको बिज्ञहरु बताउँछन । कोरोनाको समयमा पनि बिहिबारी लगायतका कार्यहरु नरोकिएका कारण पनि कोरोण संक्रमण फैलिएको बताउँछन् । कोरोनालाई सामान्य रुपमा लिएर गाउँमा स्वास्थ्य मापदण्ड पुरा नगर्दा गाउँमा कोरोना संक्रमण दर बढेको बिज्ञहरुको दावी छ ।
- सटर बन्द पसल खुल्ला
शहरी क्षेत्रमा सरकारले गरेको निषेधाज्ञा पालना गरेको जस्तो देखिएको भएपनि स्वास्थ्य मापदण्डको प्रभाबकारी कार्यन्वयन हुन नसक्दा कोरोना फैलिएको बुझिएको छ । निषेधाज्ञाका कारण शहरमा पसलका सटरहरु त बन्द छन तर व्यापारहरु भने बन्द भएका छैनन । सामान बिक्रिबितरण भित्रबाट भईरहेको छ । सटर बन्द गरेर भित्रबाट व्यापार चलाईरहँदा कोरोना संक्रमण फैलिएको हो ।
- तरकारी बजार र किराना पसलमा अत्याधिक भिड
सरकारले केहि घण्टाका लागि मात्र खोलेको तरकारी बजार र किराना पसलमा अत्याधिक भिड भएको कारण पनि कोरोना संक्रमण बढेको देखिन्छ । सिमित समयको लागि मात्र खोलीएका कारण पसल र बजारहरुमा बढेको भिडले कोरोना संक्रमण दर बढाउन सहयोग गरेको अनुमान गर्न सकिन्छ ।
- बैँक तथा बित्तिय संस्थाहरुमा घुँईचो
लकडाउनका कारण बैँक तथा बित्तिय संस्थाहरुमा सेवाग्राहीहरुको चाप बढ्दा पनि कोरोना संक्रमण दर फैलिएको अनुमान गर्न सकिन्छ । बैकका केहि शाखाहरु मात्र खुलेका कारण बैँकहरुमा भिड लागेको बुझ्न सकिन्छ । बैँक भित्र स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरे पनि बैँक बाहिर स्वास्थ्य सुरक्षा मापदण्ड पुरा नगरि भिड गरिदिनाले कोरोना संक्रमण फैलिएको बिज्ञहरु बताउँछन् ।
- पिसिआर टेष्ट गरेर पनि लखर लखर डुलिहिड्दा
कोरोना संक्रमण दर यति धेरै बढ्नुको मुख्य कारण भनेको पिसिआर टेष्ट गरेर नतिजा नआउँदै लखर लखर डुलि हिड्नु हो । जुन कारण कोरोना समुदाय स्तरमा फैलिएको बिज्ञहरु बताउँछन् । पिसिआर परिक्षण गरेर नतिजा नआउँदासम्म होम आइसोलेसनमा बसेको खण्डमा यस्तो बिकराल समस्या पैदा नहुने बिज्ञहरुको दावी छ ।
कोरोना संक्रमण दर नियन्त्रण गर्नका लागि लकडाउन गरिएको भएपनि कोरोना संक्रमणको दर भने घट्न सकेको छैन । सबै जनताले स्वास्थ्य मापदण्ड पुरा गरेर सचेत बन्न सकेको खण्डमा मात्र कोरोना नियन्त्रण गर्न सकिन्छ अन्यथा अबस्था झन जटिल बनेर जाने कुरामा कसैको दुईमत नहोला ।
कोरोना हामीलाई खोज्दै आउँदैन बरु हामी नै कोरोनालाई खोज्दै बाहिर निस्कन्छौँ । त्यसैले सचेत बनौँ । कोरोनो बिरुद्धको यो सामुहिक लडाईमा जिम्मेबार बनेर लागौँ ।