तनहुँ संवादाता । बन्दिपुर गाउँपालिका वडा नम्वर ५ स्थित याम्पाफाँँटका कृषक तरकारी बिक्री नभएपछि चिन्तित बनेका छन् ।
जसोतसो रिँढ लिएर कृषि गरेका उनीहरु बारीमा लगाएको तरकारीले बजार भाउ नपाएपछि निराश भएका हुन् । यतिखेर उनीहरुको बारीमा तरकारीजन्य वस्तुहरु बोटभरि फलेका छन् । बारीभरी केरेला, घिरौंला, लौका, गोलभेडा, बोडी, फर्सीलगायतका तरकारी छन् । तर लकडाउनका कारण बजार बन्द हुँदा बिक्री हुन सकेको छैन । तरकारी राम्रै उव्जनी भएपनि बजारभाउ नपाएको कृषक काशीनाथ भटराई बताउँछन् ।
अरु बेलामा तरकारीबाट कृषकले राम्रै आम्दानी लिन्थे तर, यो पटक भने तरकारी बारीमै छन् । व्यापारी खरिदका लागि आए भनेपनि तरकारीको मुल्य खासै पर्दैन । फर्सी, लौका, गोलभेडा, घिरौला, करेलालगायतका तरकारी धेरै फलेका छन् । तर मुल्य भने खासै पाइदैन । अझै करेलाले त राम्रो भाउन नै पाउदैन । बोटमै आएर प्रतिकिलो दश रुपैयाँका दरले पनि लैजान गाह्रो मान्छन्, उनले भने ।
कोभिडका कारण भएको बन्दाबन्दीले गर्दा पनि कृषकको तरकारी विक्रि नभएको हो । जिल्लामा कोरोना संक्रमित थपिदै गएपछि जिल्ला प्रसासन कार्यालय तनहुँले जेठ १५ गतेसम्म निषेधाज्ञा लगाएको छ । त्यसकारण पनि बजारहरु बन्द छन् । तर, प्रत्येक दिन बिहान नौ बजेसम्म भने तरकारी, खाद्यान्नलगायतका पसलहरु खुल्ने गर्छ । त्यही समयमा विक्रि गर्र्न सहज हुने ठानी व्यापारीले याम्पाबाट तरकारी खरिद गरी ल्याउने गर्छन् ।
पसलमा भने खाद्यान्न तथा तरकारीजन्य बस्तुको मुल्य आकासिएको छ । कृषकले बजार भाउ नपाएपनि बिक्रेताल भने महङ्गोमा बिक्री गर्छन् । उनीहरुले दश रुपैयाँमा खरिद गरेर चालिस देखि पचास रुपैयाँमा बिक्रि गर्छन् । लकडाउनका कारण कृषकहरु मर्कामा परेका छन् भने उपभोक्ता पनि चर्को मुल्य हालेर किन्न बाध्य छन् ।
त्यहाँका कृषकले एक रोपनी देखि ५ रोपनीसम्ममा फलफुल तथा तरकारी खेती गरेका छन् । बारीमा उव्जनी भएका जे तरकारी भएपनि दश रुपैयाँका दरले बिक्रि गर्न खोज्दा पनि उनीहरुले ग्राहक पाउन सकेका छैनन् । खुर्सानी खेती गरेकी रीता नेपालीले पनि बजार भाउ आधा घटेको बताइन् ।
एक महिना अघिसम्म प्रतिकेजी एक सय रुपैयाँमा ढेँडी खुर्सानी बिक्रि हुने गरेको भएप्नि अहिले निषेधाज्ञा लगाएपछि आधा घटेर पचास रुपैयाँमा बिक्री गर्न बाध्य भएको उनले बताइन् ।
कृषकका बारीमा तरकारी राम्रै उत्पादन भएतापनि बजार भाउ नपाउँदा उनीहरु समस्यामा परेको उद्योग वाणिज्य संघ विमलनगर बजार इकाइका सभापती बरुण भटराईले बताए ।
याम्पाफाँटमा उत्पादन भएका तरकारी लिन डुम्रे, दमौली तथा पोखराका व्यापारीहरु आउने गर्दछन् ।