‘पानी बोकेरै कपाल फुल्यो’

बझाङ/काँडाचौरका प्रायः घरका एकजनाको काम दिनभर पानी ओसार्ने मात्रै रहेको छ । गाउँमा खानेपानी नहुँदा १५० घरपरिवारले चरम समस्या झेल्दै आएका छन् ।

स्थानीयवासी न्युमा धामी उमेरले ६० वर्ष पुगिन् । उनले पानी बोक्दाका व्यथा भनिन ,‘कपाल पूरै फुलिसक्यो । यहाँ विवाह गरेर आएदेखि पानी बोक्न एकदिन खाली छैन । पानी बोक्दा बोक्दै बूढी भइसकेँ । दुई घण्टा हिँडेर पानी बोक्नुपर्छ । गोठमा गाईगोरु कराउँदैछन् । गाउँमा झगडा नभएको दिन छैन । गाउँको धारामा अलिअलि पानी आउँछ । त्यही भर्नका लागि लुछाचुँडी हुने गर्छ । पानीले दाजुभाइहरुसँग बोलचाल नै बन्द भएको छ । ’

त्यस्तै जसुली धामीले पानीको चिन्ताले रातभर निन्द्रा नलाग्ने बताए । उनले, ‘पानीका चिन्ताले रातभर निन्द्रा नै लाग्दैन । पानी नभएकै कारण कतिपय दिन भोकै समेत बस्ने गरेका छाँै । ठूलो परिवार भयो । पानी धेरै चाहिन्छ । दिनानुदिन एकजनालाई त पानीकै जिम्मा दिएर पानी मात्रै बोक्ने काम लगाउनु पर्छ । धेरै वर्षअगाडि गाउँमा घरधुरी कम थिए । पछिल्लो समय घर बढेसँगै वनजङ्गल पनि मासिँदै गएको र पानीको पनि मुहानहरु सुक्दै गएकाले पानी अभाव भएको छ । केही वर्षअगाडि गाउँमा धारा बनाउने भनेर सामान बोकेर हामीले गाउँसम्म ल्यायौँ । सामान बोकेको न त ज्याला पायौँ, न त धारा नै बन्यो ।’

काँडाचौर मात्र नभएर वडा नं ७ को भामचौरमा पनि उस्तै समस्या रहेको स्थानीयवासी धनबहादुर धामीले जानकारी दिनुभयो । पानी नभएका कारण कतिपय मानिसले बसाइँसराइ समेत गरेका छन् ।
ती दुई गाउँमा खानेपानीको समस्या अन्त्य गर्न प्रदेश र गाउँपालिकाले रकम छुट्याइएको केदारस्यु गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...