कोरोना कहरकैबीच बन्दीपुर केवलकार निर्माणले गति लिदै

तनहुँ संवाददाता ।
कोरोना कहरकैबीच बन्दीपुर केवलकार निर्माणले गति लिएको छ । बन्दीपुर गाउँपालिका– ४ ठुलोढुंगादेखि बरालथोक सम्म केवलकार सेवा संचालन गर्न निर्माण थालिएको भएपनि कोभिडका कारण ढिलाइ भएको थियो । तर पछिल्लो समय भने कोरोना कहरकै बीच कामले निरन्तरता पाएको बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ ।

बन्दीपुरमा निर्माण भैरहेको केवलकार आगामी दशैमा संचालनमा ल्याउने तयारी भएपनि बन्दाबन्दीका कारण केही समय पर धकेलिने भएको हो । ०७९ बैशाखदेखि संचालनमा ल्याउने तयारीका साथ काम भैरहेको बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । उनका अनुसार कोभिडको संक्रमणले गर्दा जिल्लामा निषेधाज्ञा लगाइएको छ । ‘बजारहरु पुर्ण रुपमा बन्द छन् । यो समयमा बाहिर हिँडडुल गर्न पनि भएन तर, केवलकार निर्माणको काम पनि रोक्न भएन । कामदारहरु पनि बाहिर निस्कन दिन भएन । त्यसैले निर्माण स्थलमा नै कम्पाउण्ड गरेर सुरक्षित तरिकाले राखेका छौ, उनले भने ।

पहाडको रानीको नामले समेत परिचित बन्दीपुरमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उदेस्यले बन्दीपुर गाउँपालिका– ४ ठुलोढुंगादेखि बरालथोक सम्म केवलकार सेवा संचालन गर्न निर्माण थालिएको बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ । त्यहाँ अहिले केवलकार सहित ५ तारे होटल र कुइन टावरसमेत निर्माणाधिन अवस्थामा रहेको छ । त्यस्तै १५ तलाको हुने उक्त कुइन टावरमा ९ तला ढलान भैसकेको छ ।

कुईन टावरको पन्धौँ तलामा दृष्यवलोकन कोठा, चौधौ तलामा रेष्टुरेन्ट, तेह्रौ तलामा सुईमिङ पुल लगायत वाकर्स म्युजियम,गेमिङ जोन लगायतका संरचना निर्माण गरिनेछ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले बन्दीपुर केवलकार नेपालकै नमुना प्रोजेक्ट भएको र सम्पन्न पस्चात यहाँको पर्यटन क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्ने बताए । कोभिडको समयमा पनि काम नरोकियोस भनेर कामदारलाई सुरक्षित राखेर निर्माणलाई प्राथमिकतामा राखिएको हो । बन्दीपुर पर्यटकीय क्षेत्र भएकाले यहाँ वर्षैपिच्छे लाखौको संख्यामा पर्यटकहरु आउने गर्छन् । कोभिड अगाडि पनि डेढ लाख पर्यटकले यहाँको अवलोकन गरेको बन्दीपुर पर्यटन विकास समितिका पुर्व अध्यक्ष बैस गुरुङले बताए । ‘अव यहाँ केवलकार निर्माण भएपछि भने झन धेरै पर्यटक भित्रिने विस्वास छ,’ उनले भने तर बन्दाबन्दी कहिले हट्छ त्यसले भने समस्यामा पारेको छ ।

७० प्रतिसत काम सम्पन्न

बन्दीपुर केवलकार सहितको कुइन टावरको निर्माणको काम अहिले ७० प्रतिशत सम्पन्न भएको छ । निर्माणाधीन केवलकारमा १९ वटा डिब्बा रहने छ । त्यसमा दुई वटा सामाग्री बोक्ने क्याविन, दुई वटा साहसिक पर्यटक चढ्नको लागि सिसैसिसाको क्याविन र १५ वटामा पर्यटकहरु ओसारपोसार गर्ने क्याविन रहनेछ ।

ठुलोढुंगाबाट बरालथोकसम्मको केवलकारको दुरी सत्र सय मिटर रहेको छ । ०७५ असोजबाट केवलकार निर्माणको काम सुरु गरिएको भएपनि कोभिडका कारण ढिलाइ भएको हो । १ अर्व ७८ करोडको लागतमा निर्माणधिन उक्त केवलकार एवं पाँच तारे होटलको लागि आर्केडि होल्डिङ्सको ५१ प्रतिशत शेयर, पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेड अध्यक्ष कम्पनीको २५ प्रतिशत, टुरिजम ईन्भेष्टमेन्ट फण्डको १० प्रतिशत र बन्दीपुर गाउँपालिका र स्थानियको १४ प्रतिशत लगानी रहको छ ।

 

 

कमेन्टहरु
Loading...