भानुभक्त प्राणी उद्यान क्षेत्रमा १७६ प्रजातीका चरा

तनहुँ ।
तनहुँको भानुभक्त प्राणी उद्यान क्षेत्रभित्र एक सय ७६ प्रजातीका चरा रहेका छन् । वैशााखमा उद्यान क्षेत्रको जंगलमा चराको गणना गरिएको थियो । गणनाको क्रममा १७६ प्रजातीका चराको तथ्याँक निस्किएको हो । गतवर्ष एक सय ४१ प्रजातीका चरा भेटिएको थियो भने यो वर्ष एक सय २४ प्रजातीका चरा फेला परेका हुन् ।

गणनाको क्रममा केही चराहरु संधै देखिने खालका थिए भने केही दुर्लभ पनि भेटिएको भानुभक्त प्राणी उद्यानका सुचना अधिकारी लव गुराँगाईले बताए ।

भानुभक्त प्राणी उद्यानमा दुई वर्षको अन्तरालमा चराको संख्या थपिदै गएको छ । गतवर्ष जंगलमा एक सय ४१ प्रजातीका चरा थिए । यो पटक बैशाखमा अवलोकन गर्दा एक सय २४ प्रजातीका चरा भेटिए । त्यसमा दुवै वर्षमा भेटिएका केही चरा थिए भने केही दुर्लभ चराहरु रहेको उनले बताए । ‘अन्यत्रबाट जंगलमा प्रत्येक वर्ष फरकफरक प्रकारका चराहरु आउने गरेका छन् भने केही चराहरु दोहोरिने गर्दछन् । अहिले गरिएको गणनालाई आधार मान्दा जंगलमा हाल एक सय ७६ प्रजातीका चरा देख्न पाइन्छ,’ उनले भने ।

जाडो र गर्मी याममा गरिएको अवलोकनका क्रममा जंगलमा १७६ प्रजातीका चरा भेटिएको कार्यालयले जनाएको छ । कार्यालयले प्रत्येक वर्ष बन्यजन्तु सप्ताह मनाउँदै आएको छ । यो वर्ष पनि वैशाख १ देखि ७ गतेसम्म मनाएको थियो । सप्ताहको क्रममा प्राणी उद्यानले यो वर्ष पनि चराको गणना गरेको हो ।

काठमाडौबाट आएको विज्ञ सहितको टोलीले गरेको गणनाका क्रममा दुर्लभ प्रजातीका विभिन्न चराहरु भेटिएको सुचना अधिकारी गुराँगाईको भनाइ छ । ‘जंगलमा तित्रा, धोवेनी, डाँग्रे, कालिजलगायतका चराहरु मात्र नभई दुर्लभ भनिएका चराहरु काँडे भ्याकुर, सेतो गिद्धसमेत देख्न सकिन्छ,’ उनले भने । गर्मीमा आगन्तुक चराहरु पनि उडेर आउने गर्छन् जसले गर्दा नयाँ नयाँ प्रजातीका चराहरु वर्षैपिच्छे थपिदै गएका हुन् ।

कमेन्टहरु
Loading...