- सौगात पोखरेल
पोखरा/बाहिर हल्ला भएजस्तो अहिले पोखरामा अक्सिजन सिलिण्डर र ग्यासको अभाब छैन । अक्सिजन बितरणमा सरकारको व्यबस्थापन चुस्त नहुँदा केहि समया पैदा भएको भने सत्य नै हो । अहिले पोखरामा अहिले बिभिन्न अस्पतालमा गरि दैनिक लगभग एक हजार सिलिण्डर ग्यास कोरोना संक्रमितको उपचारका लागि खर्च हुँदै आएको छ । पोखरामा आजको अवस्थामा दैनिक १५ सय सिलिण्डर ग्यास उत्पादन हुँदै आएको छ । पोखराका निजि स्तरमा संचालित पोखरा अक्सिजन प्रालीमा दैनिक नौ सय र कालिगण्डकी अक्सिजन प्रालिमा दैनिक छ सय सिलिण्डर ग्यास उत्पादन भईरहेको छ । दुवै कम्पनीको अधिकतम ग्यास उत्पादन क्षमता अनुसार नै अहिले अक्सिजन ग्यास उत्पादन भएको पाईन्छ ।
उपभोग भन्दा उत्पादन बढि हुँदा कसरी ग्यास अभाव भयो भन्ने प्रश्नमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. बाबुराम आचार्य भन्छन्–‘अक्सिजन अभाबकै कारण पोखरामा बिरामीले ज्यान गुमाउन पर्ने अवस्था छैन । व्यबस्थापनमा केहि समस्या हुँदा ग्यास अभाव भएको जस्तो भएको थियो । तर पोखरामा ग्यास अभाब छैन । अहिले दुवै कम्पनीमा शसस्त्र प्रहरी राखेर बिरामीको चाप हेरेर अक्सिजन बितरण गरिरहेको छौँ । ’ आचार्यका अनुसार अहिले ग्यास अभाव नभएपनि बिरामीको चाप यसरी नै बढ्दै जाने हो भने केहि दिनमा अभाव सिर्जना हुन्छ त्यसका लागि तयारी गर्न जरुरी त । तर अहिले कै अवस्थामा ग्यास अभाव भने छैन ।
अक्सिजन कम्पनीका अनुसार निजि अस्पतालहरुले सरकारी अस्पतालले भन्दा ज्यादा ग्यास खपत गरिरहेका छन् । ती ग्यास सिलिण्डरहरुलाई रोटेसन गरेर भर्ने व्यबस्थापन गर्न नसक्दा केहि अभाव जस्तो देखिएको हो । ग्यास कम्पनीमा शसस्त्र प्रहरीको निगरानी बढाएसँगै अहिले ग्यास समानुपातिक रुपमा बितरण भईरहेको आचार्यले बताए । आचार्य भन्छन्–‘केहिदिन पहिला समस्या आएपछि हामीले दुई कम्पनीमा शसस्त्र प्रहरीको ड्युटी खटाएका छौँ । अहिले समानुपातिक रुपमा बितरण भईरहेको छ । सिलिण्डरको व्यबस्थापन पनि चुस्त भएको छ । ’
पोखराका संचालित दुईकम्पनीका डाटाअनुसार पोखरामा ठुलो र सानो गरि लगभग तीन हजार ग्यास सिलिण्डर रहेका छन् । ति सबै स्वास्थ्य क्षेत्रमा भने छैनन् । यो महामारीको समयमा निर्माण उद्योगहरुसँग समन्वय गरेर सिलिण्डर स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न सकियो भने खास समस्या हुँदैन ।
पोखरामा रहेका दुई प्लान्टबाट दैनिक अक्सिजन उत्पादन १५ सय सिलिण्डर हुन्छ ।त्यसलाई प्रभावकारी बितरण गरियो भने समस्या हुँदैन । यहि समय पोखराको गण्डकी अस्पतालमा बतास ग्रुपको अगुवाईमा नयाँ अक्सिजन प्लान्ट निर्माणको लागि सहयोग संकलन भईरहेको छ । करिव तिन करोड लागतमा सम्पन्न हुने प्लान्ट निर्माणका लागि दुईकरोड बढि सहयोग संकलन भईसकेको छ । करिव महिना दिनभित्रमा प्लान्ट संचालन गर्नेगरि काम भईरहेको बतास ग्रुपले बताएको छ ।
त्यसैगरि गण्डकी अस्पतालमा ५४ करोडको अक्सिजन प्लान्ट निर्माणका काम भने अहिले रोकिएको जस्तैछ । उक्त आयोजनाका इन्जिनियर झपड थापाका अनुसार जनशक्ति र स्थान अभावका कारण आयोजनाले गति लिन सकेको छैन । अवको एकबर्षमा सक्नुपर्ने प्लान्ट निर्माणको काम दश प्रतिशत मात्र पुरा भएको थापा बताउँछन् । थापाका अनुसार अक्सिजन प्लान्ट जर्मनबाट ल्याउनुपर्ने र त्यसको कम्प्रेसर मलेसियाबाट ल्याउनुपर्ने हुन्छ । त्यसका लागि हवाई यातायात अबरुद्ध छ । त्यसकारण पनि अक्सिजन प्लान्टको काम तत्काल सम्पन्न हुने अवस्था छैन । ठेक्का सम्झौता भएको एकबर्ष बितिसक्दा पनि कोभिडको जम्मा १० प्रतिशत मात्र काम सम्पन्न गर्न सकिएको थापाको जिकिर छ ।
गण्डकी अस्पतालमा निर्माण हुन लागेको ५४ करोडको अक्सिन प्लान्टको काम छिटो सम्पन्न गर्नका लागि अस्पताल प्रशासनले ठेकेदार कम्पनीलाई ताकेता गरिसकेको छ । त्यो प्लान्टलाई फास्ट ट्र्याकबाट सम्पन्न गर्नका लागि सरकारले भुमिका खेलेको अवस्थामा पोखरामा ग्यास अभाबको समाचार पढ्नुपर्ने थिएन ।