पोखराका सरकारी अस्पताल भरियो, धान्न सक्ने अवस्था छैन अस्पतालको

  • सौगात पोखरेल

देशभर दोस्रो चरणको कोरोना संक्रमण दर बढेसँगै पोखरामा पनि संक्रमितहरुको संख्या दिनदिनै बढिरहेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै पोखरामा जटिल अवस्था भएका कोरोना संक्रमितको संख्या बढेको छ । पोखरामा रहेका गण्डकी अस्पताल र गण्डकी प्रदेशले संचालन गरेको सरुवा रोग तथा संक्रमक अस्पतालमा गरि करिब सय बढि संक्रमितहरु अस्पताल भर्ना भएका छन् ।

अस्पताल भर्ना भएका मध्ये ९० प्रतिशत बिरामीको स्वास्थ्य अवस्था नाजुक भएको गण्डकी अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए । आचार्यका अनुसार अब गण्डकी अस्पतालमा जटिल अवस्थाका बिरामी आए पनि राख्न सक्ने अवस्था छैन । उता गण्डकी प्रदेश सरकारले संचालन गरेको सरुवा रोग तथा संक्रामक अस्पताल शिसुवाका निर्देशक बिकास गौचनका अनुसार उक्त अस्पतालमा पनि थप बिरामी भर्ना गर्न सक्ने अवस्था छैन ।

गण्डकी अस्पताल र प्रदेशको कोरोना अस्पतालमा गरेर दैनिक १५० सिलिण्डर अक्सिजन ग्याँस खपत हुँदै आएको छ । यहि अवस्था केहि समयसम्म रहिरहने हो भने पोखरामा पनि अक्सिजन सिलिण्डरको अभाव हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । पछिल्लो समय पोखरामा सरकारी र निजि गरि तिन स्थानमा कोरोना परिक्षण गरिदै आएको छ । प्रदेश प्रयोगशाला र गण्डकी अस्पतालको प्रयोगशालामा परिक्षण गरिएकाहरु मध्ये ४० प्रतिशतको रिपोर्ट पोजेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकी अधिकृत सपाना सुबेदीले बताईन् । यता निजि स्तरमा संचालन भएको लाइफ केयरमा परिक्षण गरिएका मध्ये ६० प्रतिशतमा कोरोना संक्रमण भएको लाइफ केयरका संचालक डा. अंमर नागिला बताउँछन् ।

दिनदिनै संक्रमितको संख्या बढ्दा पोखरामा कोरोनाको कारण भयावह स्थिति आउने चिकित्सकहरु बताउँछन् । यहि अवस्थामा संक्रमितको संख्या बढिरहने हो भने पोखराको स्रोत र साधनले मात्र धान्न कठिन छ । अवस्थालाई नियन्त्रणमा लिनका लागि सबै तहका सरकारले भावी दिनको तयारीमा गम्भिरतापुर्वक लाग्न जरुरी छ । अन्यथा पोखरामा आउने भयावह अवस्थालाई रोक्न कसैले सक्नेवाला छैन ।

कमेन्टहरु
Loading...