अपाङ्गता भएका व्यक्तिका स्वास्थ्य र पुर्नस्थापनाका सवाललाई नीतिगत रुपमा सम्बोधन गर्न आग्रह

पोखरा ।

अपाङ्गता भएकाहरुको अवस्थाको पहिचान सहित उपचार र पुर्नस्थापनामा राज्यले विशेष जोड दिएर नीति बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वाबलम्बन जीवनपद्धति केन्द्र––पोखरा र राष्ट्रिय अपाङ्ग महासंघ, गण्डकी प्रदेशको संयुक्त आयोजनामा प्रदेश स्तरीय नीति तथा योजना तर्जुमामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य र पुर्नस्थापना सम्बन्धी भर्चुअल अन्तक्रिया कार्यक्रममा सहभागीहरुले आफ्नो अनुभव सुनाउँदै नीतिगत सम्बोधनका लागि सुझाव दिएका हुन् ।

कार्यक्रममा नेपाल अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले अपांङ्गता भएका व्यक्तिहरुका लागि प्रादेशिक स्वास्थ्य नीतिमा समावेश गर्नुपर्ने विषय माथि कार्यपत्र प्रस्तुत गरेका थिए । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धिको धारा २५ मा उल्लेखित बुँदा, नेपालको संविधान २०७२ उल्लेखित स्वास्थ्य नीति, अपाङ्गताका मुद्दा र समस्या, उद्देश्य , नीति, रणनीति सहित अपेक्षित उपलब्धि बारेमा प्रष्ट पार्नुभएको थियो । प्रस्तुत विषयबस्तु माथि सहभागिहरुले सुझावहरु दिएका थिए ।

विशेष गरी नियमित औषधी सेवन गर्नेहरुका लागि आर्थिक समस्या, अपाङ्गमैत्री अस्पतालको अभावमा सहज स्वास्थ्य पहुँच नहुनु, अस्पतालमा दोभाषे नहुँदा समस्या सुनाउन असहज, स्वास्थ्य वीमा निश्चित अस्पतालमा मात्र हुँदा सेवा उपभोगमा समस्या त्यसैगरी अपाङ्गता भएका महिलाहरुका प्रजनन् स्वास्थ्यमा देखिएको जटिलता लगायतका विषयमा सुझावहरु राखिएको थियो । परिवारका दुबै वा एक व्यक्ति अपाङ्गता छन् भने उनीहरुका सन्तानको स्वास्थ्य उपचारमा पनि राज्यको विशेष नीति आवश्यक रहेको औल्याइएको थियो ।

कार्यक्रममा स्वाबलम्बन जीवन पद्धति केन्द्र–पोखराका अध्यक्ष हेम गुरुङले प्रदेशमा स्वास्थ्य नीति निर्माणका लागि अघि बढेको अवस्थामा अपाङ्गता भएकाको स्वास्थ्य र पुर्नस्थापनाको विषयलाई विशिष्टकृत रूपमा सम्बोधन गर्नुपर्ने बताएो । अपाङ्गता भएका व्यक्तिहरु स्वस्थ र गुणस्तरीय जीवन बाँच्ने अधिकारबाट वञ्चित हुन परेको जनाउँदै अब बन्ने स्वास्थ्य नीतिले स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरे ।

मनोपरामर्शकर्ता जमुना शर्माले अपाङ्गता भएका व्यक्तिहरु सहज रुपमा स्वास्थ्य पहुँचमा पुग्न नसक्दा थुप्रै मानसिक समस्या देखिने गरेको जनाउँदै यस तर्फ पनि नीतिगत रुपमै सम्बोधन हुनुपर्ने धारणा राखेकी थिइन् । कोभिड १९ को असर झन बढी अपाङ्गता भएकोमा देखिएको उनको भनाइ थियो ।

स्वावलम्बन जीवनपद्धति केन्द्र–पोखराका महासचिव अञ्जना के.सी.ले कार्यक्रममा दृष्टिविहिन, सुस्त श्रवण, अटिज्म, शारीरिक अपाङ्गता, श्रवण दृष्टिविहिन भएका, बौद्धिक अपाङ्गता, हेमोफिलिया, लगायतका सहभागी रहेको र आ–आफ्नो क्षेत्रको समस्या सहित सुझाव दिएको बताइन् । उनले १० वर्षे स्वास्थ्य रणनीति बन्दै गर्दा अपाङ्ग व्यक्तिका स्वास्थ्य र पुर्नस्थापनाका सवाललाई पनि समेटेर नीति बनाउनुपर्ने उद्देश्यले सुझाव संकलनका लागि कार्यक्रमको आयोजना गरेको बताइन् ।

उनका अनुसार कार्यक्रममा गण्डकी प्रदेशका ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रम यूएसएआइडी र प्रोटेक्टिङ्ग ग्लोबल राइटस् (प्रोग्रेस) को आर्थिक सहयोग तथा मोविलिटी इन्टरनेशनल यूएसएसँगको अन्तराष्ट्रिय साझेदारीमा कोभिड १९ महामारीका बेला समावेशी प्रतिकार्य प्रवद्र्धन गर्न अपाङ्गता अधिकारकर्मीहरूको परिचालन परियोजना अन्र्तगत सम्पन्न गरिएको थियो ।

कमेन्टहरु
Loading...