तनहुँ ।
कोभिड –१९ को जोखिम बढेपछि बन्दीपुर गाउँपालिकाले पर्यटकलाई बन्दीपुर प्रवेशमा रोक लगाएको छ । विहीबार बसेको गाउँपालिकाको बैठकले शुक्रबारदेखि पर्यटकलाई बन्दीपुर प्रवेशमा कडाइ गरेको हो ।
गाउँपलिकाले बाहिरी जिल्ला तथा अन्यत्र बाट आउने पर्यटकबाट संक्रमण फैलन सक्ने सम्भावनालाई न्युनीकरण गर्न शुक्रबारदेखि बन्दीपुर प्रवेशमा निषेध गरेको हो । पछिल्लो समय बन्दीपुरमा पर्यटकको चाप बढ्दै गएको र पर्यटकहरु घुम्न आउने क्रम नरोकिएकाले गाउँपालिकाले बन्दीपुर प्रवेशमा रोक लगाएको प्रमुख प्रसासकीय अधिकृत महेस सुवेदीले बताए । उनले भने ‘गाउँपालिकाले बसपार्क नजिक स्वास्थ्य सहायता कक्षसमेत स्थापना गरेको छ ।’
गाउँपालिकाले भेरियन्टसहितको कोभिड– १९ को बारेमा स्थानीय संचार माध्यमबाट सुचना प्रसारण गर्ने, माक्स प्रयोगलाई अनिवार्य गराउने,माक्स प्रयोग नगर्नेलाई सरुवा रोग संक्रमण ऐनअनुसार कारबाही गर्न प्रहरी प्रसासनको समेत सहयोग लिने निर्णय गरेको छ । त्यस्तै गाउँपलिका क्षेत्रभित्र बाहिरी देश, जिल्ला र बन्दीपुर गाउँपालिकाबाहेकका अन्य स्थानबाट आउने आगन्तुक पर्यटकलाई बन्दीपुर आवागमनमा निषेध गर्ने निर्णय गरेको छ । साथै यस कार्यमा यातायात व्यवसायी, उद्योग बाणिज्य संघ, पर्यटन विकास समिति, टोलविकास सस्था,वडास्तरीय विपद व्यवस्थापन समितिलगायत राजनीतिक दलहरुलेसमेत पुर्ण रुपमा सहयोग गर्ने गाउँपालिकाले गरेको निर्णयमा उल्लेख छ ।