तनहुँमा दश हजार ३ सय ५९ घर निर्माण सम्पन्न

तनहुँ संवादाता । भुकम्प गएको पाँच वर्ष पूरा भई छ वर्ष लाग्दा जिल्लामा १० हजार ३ सय ५९ घर निर्माण सम्पन्न भएको छ ।

०७२ बैशाखमा गएको विनासकारी भुकम्पका कारण जिल्लामा थुप्रै घरमा क्षती पुगेको भएपनि निर्माणमा ढिलाइ हुँदा घर निर्माण सम्पन्न हुन नसकेको हो । जिल्लमा भुकम्पको कारण मानवीय क्षति नभएपनि भौतिक संरचनामा क्षति पुगेको थियो ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ तनहुँका सुचना अधिकारी रामराज न्यौपानेले सोचे अनुरुप लाभग्राहीको घर निर्माण सम्पन्न हुन नसकेको बताए । लामो समय वितिसक्दा पनि सोचे अनुरुप लाभग्राहीले घर निर्माण गर्न सकेका छैनन् ।

‘घर निर्माण अत्यन्तै सुस्त गतिमा गएको छ । हुनत लाभग्राहीलाई आर्थिक समस्या पनि भएको होला,’ उनले भने । त्यतिमात्र नभई पछिल्लो समय निर्माण सामग्री ढुंगा, गिटी, बालुवा महंगियो जसले गर्दा लाभग्राहीले घर निर्माणलाई तिव्रता दिन सकेनन् ।

त्यस्तैगरी कोभिड– १९ का कारण पनि उनीहरुले घर निर्माणलाई प्राथमिकता दिन नसकेको उनको भनाइ छ । ०७२ को भुकम्पले घर भत्काइदिएपछि कतिपय लाभग्राहीहरु पाल टाँगेर बस्न बाध्य भए पनि हावाहुरी र वर्षाका कारण भने उनीहरुले सास्ती झेल्नु परेको थियो ।

तनहुँमा १४ हजार ८ सय ३७ पुर्ण क्षति र एक हजार एक सय ३० आंशिक गरी १५ हजार नौ सय ६७ लाभग्राही छन् । ती मध्ये पहिलो किस्ता १४ हजार नौ सय ६ जनाले लगेका छन् भने ११ हजार ९ सय ७६ जनाले दोस्रो किस्ता बापतको रकम लगि घर निर्माण गरिरहेका छन् ।

१२ लाभग्राहीले रकम फिर्ता गरे

०७२ को भुकम्पले क्षती पुगेका घरपरिवारलाई सरकारले तीन लाख रुपैयाँ उपलव्ध गराएको भएपनि जिल्लाका लाभग्राहीले भने पहिलो किस्ता लगेर पनि फिर्ता गरेका छन् । पहिलो किस्ता लग्ने १२ जना लाभग्राहीले रकम फिर्ता गरेका हुन् ।

सुरुमा राज्यले निसुल्क दिएको पैसा भनि लगेपनि पछि उनीहरुले फिर्ता गरेको सुचना अधिकारी न्यौपानेको भनाइ छ । सुरुमा पहिलो किस्ता लगे तर घर निर्माण गरेनन् । त्यसपछि राज्यले रकम लगेर पनि घर निर्माण नगर्ने लाभग्राहीलाई कारबाही गर्ने भनिएपछि उनीहरुले रकम लगेपनि फिर्ता गरेका हुन् ।

‘अधिकांसको आफ्नै घर भएको र त्यति रकमले सोचे अनुरुपको घर निर्माण सम्पन्न नहुने देखेपछि उनीहरुले पैसा फिर्ता गरेका हुन्,’ उनले भने ।

फाइल तस्बिर

कमेन्टहरु
Loading...