हिमालयन चितुवाले चुमे ‘अन्तर्राष्ट्रिय प्रोफेसनल किक बक्सिङ हिट ४८’ को उपाधि

काठमाडौं । युवा पुस्ताका बक्सर अविरल घिमिरेले ‘अन्तर्राष्ट्रिय प्रोफेसनल किक बक्सिङ हिट ४८’ को उपाधि चुमेका छन् । जापानको नागोया सहरमा अवस्थित नागोया कंग्रेस हलमा आज आयोजित भिडन्तमा हिमालयन चितुवाले पहिलो राउण्डमा नै जापानी खेलाडी योसिदा यइजीलाई परास्त गर्दै ऐतिहासिक जित हात पारेका हुन् ।

विश्वका भेट्रान बक्सरलाई मात्र सो प्रतियोगितामा खेलाइने आयोजकले जनाएको छ । आकर्षक भिडन्तमा सोे प्रतियोगिता जित्ने अविरल कम उमेरका पहिलो बक्सर बनेका छन् । घिमिरेले गत चैत १५ गते ‘के वान फेस्टिबल २०२१’ को उपाधि चुमेका थिए । जापानको टोकियो सहरमा सम्पन्न सो अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जित दिलाएका थिए । विश्वका चर्चित बक्सरलाई मात्र सो महोत्सवमा खेलाइएको थियो । सो प्रतियोगिताको पदक आफ्नो पक्षमा ल्याएसँगै उनी कम उमेरका पदक हात पार्ने पहिलो नेपाली युवा खेलाडीसमेत बनेका थिए ।

१० हजारभन्दा बढी जापानीले विश्वचर्चित सो भिडन्त हलमा हेरेका थिए भने आबेमा युट्युब च्यानलमार्फत् विश्वभर प्रत्यक्ष प्रसारण गरिएको थियो । अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका थिए । सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरल हालै सम्पन्न विश्वको प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । नेपालका तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने अविरल पहिलो ‘बक्सर’समेत बनेका थिए ।

२१ वर्षीय बक्सर घिमिरेले बाज्रिलियाली खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुने परेको थियो । चन्द्रागिरी नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरु विगत ५ वर्षदेखि नागोयामा बस्दै आएको छ । वेष्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेका अनुसार अविरलले हालसम्म १६ भन्दा बढी व्यावसायिक किक बक्सिङमा भिडन्त गरिसकेका छन् । उनी तीमध्ये अधिकांश खेलमा प्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल छन् । बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुमेका थिए । रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन् ।

३ राउण्डको ३ चरणको खेलमा अंक बराबरी हुँदा पुनः २ मिनेटको थप समयमा घिमिरेले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि हात पारेको थियो । यसैगरी उनले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए ।

रोमाञ्चकारी सो भिडन्तमा उनले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर बनेका थिए । घिमिरेले हालसम्म हिट–२४ किक बक्सिङ खेलको मिडिल वेटको दुईपटक च्याम्पियन तथा १४ खेलमा अपराजित यात्रा गर्ने क्रममा ९ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका छन् ।

तीमध्ये अन्तर्राष्ट्रिय प्रतियोगिताका ९ खेलका ८ खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल भएको गुर्जुराधास्थित अन्तर्राष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा सञ्चालकसमेत रहेका रामनारायणले जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...