एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रविधिको प्रयोग अधिकतम गरेर सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मी र अस्पतालहरुलाई आग्रह गरेका छन् । ‘मन की बात’ नामक रेडियो कार्यक्रमको ७६ औं श्रृंखलामा बोल्ने क्रममा उनले स्वास्थ्यकर्मीहरुले सूचना र प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवा दिन सकेमा कोरोनाभाइरस विरुद्धको लडाईं प्रभावकारी हुने बताएका हुन् ।
प्रविधिको प्रयोग गरेर विशेषगरी कोरोना सम्बन्धी सल्लाह दिने, सेवा सुविधाका बारेमा बताउने, सचेतना जगाउने लगायतका कार्य गर्नु उपयुक्त हुने उनको भनाई थियो । ‘स्वास्थ्यकर्मी नै कोरोनाविरुद्धको अग्रपंक्तिका लडाका हुन्, उनीहरुले नै यसमा धेरै खट्नु र सहयोग गर्नु पर्छ ।’ उनले भनेका छन् । स्वास्थ्यकर्मीको अनुभव अहिले उपयोगी हुने प्रधानमन्त्री मोदीले बताएका छन् । विज्ञको सुझाव, सल्लाह यतिबेला अति महत्वपूर्ण हुने भएकाले उनीहरुले प्रविधि मार्फत आफ्नो ज्ञान बाँडिरहनु पर्नेमा उनले जोड दिएका छन् ।
कोरोनाबाट धेरै प्रभावित भएको भारतमा अहिले दैनिक झण्डै साढे ३ लाख मानिस संक्रमित हुने गरेका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४९ हजार ६ सय ९१ जना संक्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतभरी गरेर कुल २ हजार ७ सय ६७ जनाको कोरोनाकै कारणले मृत्यु भएको छ ।रासस