चर्को आलोचना पछि बाग्लुङ नगरपालिका पछाडि हट्यो, पुल तर्दा कर तिर्नुपर्ने निर्णय फिर्ता

पोखरा । बाग्लुङ–पर्वत जोड्ने पुल तर्दा कर तिर्नुपर्ने निर्णय फिर्ता भएको छ । ब्यापक रुपमा विरोध भएपछि यी २ वटा जिल्ला जोड्ने ५ सय ६७ मिटर लामो बांग्रेचौर–अदुवाबारी झोलुंगे पुल तर्दा कर तिर्नुपर्ने निर्णय फिर्ता भएको हो ।

केही दिन अगाडि बाग्लुङ नगरपालिकाले पूर्वाधार करको लागि भन्दै प्रतिव्यक्तिले २० रुपैयाँ कर तिर्नुपर्ने निर्णय गरेको थियो । नगरपालिकाले यस्तो निर्णय गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

ब्यापक विरोध भए पछि सूचना जारी गर्दै नगरपालिकाले हालका लागि पुल तर्दा तिर्नुपर्ने कर लिने निर्णय फिर्ता लिने जनाएको हो ।

‘प्रस्तुत विषयमा बाग्लुङ नगरपालिका नगर कार्यपालिकाको मिति २०७७/१२/२६ गतेको निर्णयानुसार बाग्लुङ नगरपालिका वडा नम्बर १ बांग्रेचौरदेखि कुश्मा नगरपालिका वडा नम्बर १ अदुवाबारी जोड्ने झोलुंगे पुलमा लगाइएको पूर्वाधार उपयोग कर अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा आदेशानुसार सूचित गरिन्छ ।’ नगरपालिकाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

यस अगाडि नगरपालिकाले सूचना जारी गर्दै पुल तर्दा शारीरिक अपांगता भएका व्यक्तिले १० रुपैयाँ, अन्य व्यक्तिले २० रुपैयाँ तथा विदेशी नागरिकले ५० रुपैयाँ कर तिर्नुपर्ने निर्णय गरेको थियो ।

त्यस्तै बाग्लुङ तथा पर्वत जिल्लावासीलाई भने कर नलाग्ने नगरपालिकाले जनाएको थियो ।

कमेन्टहरु
Loading...