खुला ठाडो भाका र बाघचाल प्रतियोगिता शुक्रबारदेखि

लमजुङ । यही वैशाख १० र ११ गते खुला प्रतियोगिताका रूपमा ठाडो भाका र बाघचाल प्रतियोगिताको आयोजना हुने भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले बेसीसहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नवराज पहाडीले लोकसंस्कृतिको उत्थानका लागि कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

उनले ठाडो भाकाका लागि पुरुष र महिला ३/३ जना सहभागी भई विपरीत लिंगी समूहसँग १० टुक्का गाउनुपर्नेछ । दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीको भगवान् आधारभूत विद्यालयमा आयोजना गरिने कार्यक्रमको प्रवद्र्धन दोर्दी गाउँपालिकाले गरेको छ ।

कार्यक्रममा ठाडो भाकाका महानायकको उपाधि बुद्धिमान दुरा ‘धम्पु’ लाई र ठाडोभाका ‘नर्मदा स्मृति’ पुरस्कारबाट लोक संस्कृतिकर्मी कृष्ण कँडेललाई सम्मान गरिने भएको छ । प्रतियोगिताका लागि ठाडोभाकातर्फ १५ समूह र बाघचालतर्फ ३५ जनाले नाम दर्ता गरिसकेको अध्यक्ष पहाडीले बताएका छन् । ठाडोभाकातर्फ ९० टोलीको सहभागिता रहनेछ ।

ठाडोभाकातर्फ प्रथमलाई २५, दोस्रोलाई १५ र तेस्रोलाई १० हजार पुरस्कार प्रदान गरिने तथा सहभागी समूहलाई बाटो खर्चस्वरुप ३/३ हजार प्रदान गरिने छ । बाघचालतर्फ प्रथमलाई ७ हजार, दोस्रोलाई ४ हजार र सान्त्वना दुई जनालाई २/२ हजार पुरस्कार छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका संरक्षक दुरा र सदस्य दुराले ठाडो भाकाका केही टुक्का गाएका थिए । रासस

कमेन्टहरु
Loading...